जाडोमा आफ्नो छालाको स्याहार कसरी गर्ने ?
जाडोमा अधिकांश मानिसले अनुहारको मात्र स्याहार गर्ने गर्दछन्। खासगरी हात, खुट्टा र अनुहारको मात्र नभएर जाडो मौसममा पूरै शरीरको विशेष ध्यान दिनुपर्छ।
विशेषगरी जाडोमा मानिसका शरीरको छाला सुख्खा हुने, हातखुट्टा, ओठ फुट्ने समस्या देखिन्छन् ।नुहाएपछि पूरै शरीरमा ‘बडी लोसन’ अथवा मोस्चराइजर क्रिम लगाउनुपर्छ। जाडोमा घाम प्यारो हुन्छ।
त्यस्तै हामी धेरै समय घाममा बस्ने गर्छौं। घाममा बस्दा घामको किरणले हाम्रो छालालाई असर गरिरहेको हुन्छ। घाम ताप्न बस्नु पाँच मिनेटअघि हामीले ‘सन प्रोटेक्सन’ क्रिम प्रयोग गर्नुपर्छ।
जाडोमा धेरै समय घाममा बसिने हुँदा ३० देखि ५० एसपी एफका सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ। सम्भव भएसम्म प्रत्येक चार घण्टामा क्रिम लगाइरहनुपर्छ। भान्छामा खाना पकाइरहँदा भान्छाको तापक्रम बढी हुन्छ।
हाम्रो छाला कोमल हुने भएकाले त्यसको तापक्रम र खारले हाम्रो छालालाई असर गर्छ। हाम्रो ध्यान जान नसकेको अर्को कुरा, घरमा अथवा अफिसको काममा हामी लामो समय कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ। यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ। त्यसकारण यी उपकरण प्रयोग गर्नु १५ मिनेट अगाडि शरीरमा बडी लोसन र सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ।
जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ जसका कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ । जाडो याममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो।
कागतीसँग मनतातो पानीको प्रयोगले तपाईलाई धेरै ताजा र छालालाई सुख्खापनबाट बच्न मद्त पुर्याउँछ।
Comments