वैकल्पिक उम्मेदवारका बारेमा के सोँच्छन्  काठमाडौँ-१ का मतदाता ?

महानगरपालिकाको क्षेत्र नं १ मा  १०, ११, २९ र ३१ नं वडा पर्छन् । यस क्षेत्रमा पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाल लगायतका ठाउँ रहेका  छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ लाई चासोका साथ हेरिएको छ । यो निर्वाचन क्षेत्रमा हेबीवेट मानिएका नेपाली कांग्रेसका प्रकाशमान सिंहदेखि लिएर  प्रमुख प्रतिपक्षी दल एमालेका किरण पौडेल, राप्रपाका रबिन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपालका लागि नेपाली पार्टीका  बालकृष्ण  न्यौपाने, सुशासन पार्टीका रमेश खरेल र अन्य स्वतन्त्र व्यक्तित्त्वहरु चुनावी मैदानमा उत्रिएका  छन्। चुनाव नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी शुरु भएका छन्।
  
यसै सिलसिलामा हामीले यहाँका स्थानिय मतदाताहरुको राजनैतिक धारणाबारे जानकारी लिएका छौँ। 
 
माइतीघरकी मतदाता यमुना ज्ञवालीले  यसअघि नेकपा एमालेलाई नै मत दिने गरेको बताईन्। यसपटक उनी रबिन्द्र मिश्रलाई मत दिने निष्कर्षमा पुगेकी छन्। उनले भनिन् , "रबिन्द्र मिश्र राम्रो मान्छे हुन् भन्ने सुनेको छु तर नजिकबाट भेट्न पाएको छैन। उनले राजसंस्था लिएर आउने  भनेका छन्। म त उनलाई  नै भोट दिने हो, अरुले केहि गर्न सकेनन् उनले चाहिँ गर्छनकि ?"  

त्यस्तै, अर्का  भिमसेनगोलाका  मतदाता गोपाल फुँयालले भने, "रबिन्द्र मिश्रले चरम राजनीतिक हस्तक्षेपको अन्त्य, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, अर्थतन्त्रको उद्देलन तथा रोजगारी प्रवर्द्धन, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, सन्तुलित विदेश नीति, वैज्ञानिक भू–उपयोग,पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा जलवायुका एजेन्डा अघि सारेका छन् । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय  राजनीति बुझेका व्यक्तित्त्व पनि हुन्।

अनामनगरमा कानुन व्यवसाय संचालन गरिरहेका वकिल हरि डुम्रे भन्छन्, "नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपाने भ्रष्टचारको अन्त्य, राष्ट्रियताको जगेर्ना गर्ने, राजनैतिक शुद्धिकरण, न्यायपालिकाको शुद्धिकरण, सामाजिक न्यायका लागि काम गर्ने उम्मेदवार हुन्।  उनले आजसम्म सत्तामा बसेका राजनीतिज्ञ र उच्च तहका कर्मचारीहरुको सम्पतिको छानबीन गरी दोषीलाई कानून बमोजिम कडा सजाय गरी घुष खाएर, भ्रष्टाचार गरेर वा राज्य संयन्त्रको दुरुपयोग गरेर कमाएको सम्पति जफत गरी गरीबी निवारण, युवाहरुको रोजगारी एवं शिक्षा र स्वास्थ्यमा लगाउन एक शक्तिशाली र निष्पक्ष नागरिक आयोग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।  उनी पनि राम्रो उम्मेदवार  भएकाले कसलाई भोट दिने भन्ने कुरामा अलमल्ल  छु।"

डिल्लीबजारमा भेटिएका स्थानिय राम कुमार श्रेष्ठ र बिष्णु आचार्यले  भने, ", रबिन्द्र मिश्र, रमेश खरेल र पुकार बम एउटै क्षेत्रबाट चुनाव लडेर गलत गरेको महसुस जनतालाई भएको बताए। पुराना पार्टीबाट दिक्क भएका उनी यसपली नयाँ उम्मेदवारलाई भोट दिने बताए। प्रहरी सेवाबाट राजिनामा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न मैदानमा उत्रिएका  छन् । लामो समय प्रहरी सेवामा बिताएका तथा मिडियामा पनि छाइरहेका खरेल स्थानीयका लागि अपरिचित होइनन। वैकल्पिक राजनीतिबाट उदाएका  राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता पुकार बम सक्षम, अनुभवी पुस्ता संसद्‌भित्र आउनुपर्ने एजेन्डा लिएर उठेका छन्। उनी राम्रै व्यक्तित्त्व भएका उम्मेदवार हुन्।  यही क्षेत्रमा तिनै जना राम्रो र नयाँ अनुहार देशले खोजेको नेपाली माटोको माया भएकाहरु अलग अलग क्षेत्रबाट उठनुपर्ने थियो तर एकै ठाउँमा एकआपसमा लडेर उहाँहरुले राम्रो गर्नु भएन।" उनले पनि यस्तो परिवेशले गर्दा आफुहरुले हालेको मत पनि खेर जाने होकी भन्दै चिन्ता व्यक्त गरे।

शिक्षा, यातायात र सञ्चारको हिसाबले सुगम यो निर्वाचन क्षेत्रका मतदाताका लागि कसलाई मत दिने भनेर निर्णय गर्न मतदाताहरुलाई कठिन हुने देखिएको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा एमालेलाई मत दिइरहेका कतिपय मतदाताहरु राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपालका लागि नेपाली पार्टीका  बालकृष्ण  न्यौपाने र सुशासन पार्टीका रमेश खरेलका पक्षमा उभिएका छन् जसले  गर्दा  मूल धारका दलहरूलाई दबाबमा पारेको छ।

थापाथलीका मतदाता रबिलाल लामिछानेले भन्छन्,  "पुराना पार्टीले केही गर्न सकेनन् भनेर वैकल्पिक राजनीतिमा आएका मिश्रको एजेण्डा 'दश-पन्ध्र जना नेतालाई पाल्नुभन्दा बरु एउटै  राजा ठिक लाग्न थाल्यो त्यसैले मिश्रलाई भोट दिन्छु।" पुराना पार्टीबाट वाक्क भएका लामिछानेले बरु राप्रपालाई भोट दिने धारणा राखे।

काठमाडौँमा परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा एमालेलाई मत दिइरहेका कतिपय मतदाता नै राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा उभिएको आंकलन गरिएको छ। राजनीतिक दलहरूसँग रुष्ट भएका मतदाताले अप्रत्याशित नतिजा नदेलान् भन्न पनि सकिँदैन । तर, कतिपय  मतदाताहरु यस्ता पनि भेटिए जो रबिन्द्र  मिश्रलाई नचिने पनि राजसंस्था फर्किने आशामा हलो  चिह्नमा भोट दिने बताउँछन्। सङ्घीय राजधानी रहेको काठमाडौँ क्षेत्र नं १ मा कसले बाजी मार्छ त्यो भने मङ्सिर ४ पछि नै थाहा हुनेछ ।
 

Comments

Back to top