बन्द हुन थाले सवारीसाधनका शोरुम
सरकारले सवारीसाधन आयातमा प्रतिबन्ध लगाएसंगै देशभर विभिन्न सवारीका शोरूमहरु बन्द हुन थालेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी विनिमय सञ्चिति कम भएको भन्दै गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गर्दै १० वस्तुको आयातमा रोक लगाएसंगै सवारी आयात हुन सकेको छैन । जसकाकारणले गर्दा अहिले देशभर दुई र चारपांग्रे कम्पनीका ५८ शोरुमहरु बन्द भएका छन् ।
शोरुम बन्द हुनुको कारण आयात प्रतिबन्ध मात्र नभई बैंकको ब्याजदर अस्वाभाविक रूपमा बढ्नु पनि हो। करिब ७ महिनादेखिको आयात प्रतिबन्धले अटोमोबाइल क्षेत्रमा अपूरणीय क्षति भएको छ। विदेशी विनिमय सञ्चितिमा कमी आएपछि राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । नाडाका अनुसार यस्तो व्यवस्थाले पनि सवारीसाधन आयातमा कमी आएको हो।
यससँगै ती शोरुममा कार्यरत कर्मचारी बेरोजगार बनेका छन् । सञ्चालनमा रहेका सोरुमले पनि कर्मचारीलाई बेतलबी बिदामा घर पठाउन थालेका छन् । बैंक ब्याज थेग्न नसक्ने अवस्थामा र आयात प्रतिवन्धले व्यवसायनै संकटमा पुगेको छ।
Comments