काठमाडौं क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा कति रोचक?

काठमाडौं क्षेत्र नम्बर १,सानो भूगोल तर ठूलो संख्यामा मतदाता रहेको क्षेत्र हो |  यस क्षेत्रमा वडा नम्बर १०, ११, २९ र ३१ पर्छन्। निर्वाचन मिति नजिकिएसँगै चुनावी अभियान तीब्र बनाएका राजनीतिक दलबीच प्रतिस्पर्धा पनि बढेको छ । आफूले जित्ने दाबी गर्दै उम्मेदवार चुनावी अभियानमा जुटे पनि स्थानीय र मतदाताको आँकलन भने बेग्लाबेग्लै छ।

यस क्षेत्रमा नेकपा एमालेबाट  युवा नेता किरण पौडेल उम्मेदवार  छन् । त्यसैगरी सोही क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका  प्रकाशमान सिंह उम्मेदवार छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं क्षेत्र नं १ मा रवीन्द्र मिश्रलाई उम्मेदवार बनाएको छ भने  राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम,  नेपाल सुशासन पार्टीबाट रमेशप्रसाद खरेल र नेपालका लागि नेपाली पार्टीबाट बालकृष्ण  न्यौपाने पनि उम्मेदवार छन्।

यस्तै यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट हरिशरण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट शंकर बन्जाडे, हाम्रो नेपाली पार्टीबाट डम्बर शाह, जनमत पार्टीबाट हरेन्द्र चौधरीलगायतले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट भने मिरा विष्ट, देव शर्मा, निर्जल शाह, संगीता बोगटी, सुनिता बसेल, गोमा खतिवडा अधिकारी, दुर्गाप्रसाद लिम्बू, सीता तामाङ केसी, कुलबहादुर तामाङ उम्मेदवार छन् ।

एमालेका पौडेलले समृद्धि र सुशासन, युवा नेतृत्वको नारा अघि सारेसंगै काठमाडौंका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेन्डा बनाएका छन्। यता काँग्रेसका सिंहले यसपटक ‘राजनीतिलाई निकास र क्षेत्रमा विकास’ भन्ने नारा लिएर चुनाव लड्दै छन् ।

मिश्रले चरम राजनीतिक हस्तक्षेपको अन्त्य, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, अर्थतन्त्रको उद्देलन तथा रोजगारी प्रवर्द्धन, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, सन्तुलित विदेश नीति, वैज्ञानिक भू–उपयोग,पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा जलवायुका एजेन्डाअघि सारेका छन् ।यस्तै वैकल्पिक राजनीतिबाट उदाएका युवा नेता पुकार बम पनि यस क्षेत्रबाटै प्रतिस्पर्धा गर्दैछन् ।उनले सक्षम, अनुभवी पुस्ता संसद्‌भित्र आउनुपर्ने, एउटै व्यक्तिले सिंहदरबारभित्र पहुँच र पद होल्ड गर्ने कार्य बन्द हुनुपर्नेजस्ता एजेन्डा अघि सारेका छन्।

बमले संविधानको व्यवस्थाअनुसार कार्यान्वयन नभएका नागरिकको जनजीविकाको परिवर्तनका लागि उम्मेदवारी दिएका हुन्। प्रहरी सेवाबाट राजिनामा मा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न उम्मेदवारी दिएको उल्लेख गरेका छन् । अर्कोतर्फ़ नेपालका लागि नेपाली पार्टीका बालकृष्ण  न्यौपाने भ्रष्टचारको अन्त्य, राष्ट्रियताको जगेर्ना, राजनैतिक शुद्धिकरण, न्यायपालिकाको शुद्धिकरण, सामाजिक न्यायका लागि काम गर्ने प्रतिबद्ध जनाएका छन्।  

यसरी, प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि विविन्न पार्टीका उम्मेदवारहरुले आफ्नो आफ्नो एजेन्डा अघि सारेका छन्। यस क्षेत्रको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान लाउन सकिन्छ।   

Comments

Back to top