स्थानीय निर्वाचनमा गोली चलेको उदयपुरको सोरुङमा चुनाव बहिष्कारको चेतावनी

उदयपुरको कटारी नगरपालिका- १० सोरुङछबिसेका मतदाताले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोरुङछबिसे मतदान केन्द्रमा प्रहरीको गोली लागि एक युवकको ज्यान गएको थियो । गोली प्रहारबाट युवकको ज्यान गएपछि भएको सहमतिअनुरुप काम नभएको भन्दै स्थानीयले मतदान बहिष्कार गर्ने चेतावनी दिएका हुन्। 

स्थानीय सोरुङछबिसे माध्यामिक विद्यालयको प्रांगणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीको गोलीले एक स्थानीय युवाको ज्यान गएको थियो भने अर्का स्थानीय घाइते भए । स्थानीयवासीले आन्दोलन गरे, घाइतेलाई उपचारार्थ अस्पताल पठाए र निर्वाचन पुनः गराउने माग गर्दै तीन दिनसम्म बाकस निकाल्न दिएनन् ।

खसेको मतपत्र सिल गरिरहेकै बेला भएको गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवारकै भतिजको ज्यान गएपछि मतदानस्थल केही घण्टा तनावग्रस्त भयो । सुरक्षाकर्मीहरूले मतपत्र खसेको बाकस सुरक्षित गरे र हवाई फायर गर्दै तनाव व्यवस्थपन गरे तर मृतक र घाइते परिवार तथा आफन्तलगायत स्थानीयबासीले आन्दोलन जारी राख्दै विभिन्न माग अघि सारे । 

नेपाली कांग्रेस सोरुङका वडा सभापति बलबहादुर खत्रीले पीडित पक्षको माग पूरा नगरेसम्म निर्चवान हुन नदिने कुरामा प्रमुख प्रतिपक्षी दल एमालेदेखि सत्ता गठबन्धनमा सामेल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र बिप्लव नेतृत्वको नेकपासम्मका स्थानीय नेता कार्यकर्ता एकमत रहेको बताए । 

Comments

Back to top