काठमाडौँ क्षेत्र नं. २ को चुनावी टक्कर!
काठमाडौँ महानगरपालिका क्षेत्र नं- २ को निर्वाचनले इतिहासदेखि नै नेपालको राष्ट्रिय राजनीतिलाई प्राय: अचम्भित बनाउने गरेको देखिन्छ। जसका कारण यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरु बढी चासो र चर्चामा रहेको पाइन्छ। काठमाडौँ क्षेत्र नं. २ मा महानगरपालिकाको वडा ९ का बत्तीसपुतली, सिनामंगल, वडा ३२ का कोटेश्वर, जडिबुटी, पेप्सीकोला तथा कागेश्वरी मनोहरा नगरपालिकाको ४, ५, ६, ७, ८,९ र शंखरापुर नगरपालिका रहेका छन्।
मंसिर ४ गते हुन गईरहेको चुनावमा करिब ८२ हजार मतदाता रहेको यस क्षेत्रमा राजनीतिक दलका १९ र स्वतन्त्रबाट १० गरेर जम्मा २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। यसपटकको चुनावमा सत्तागठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पूर्व सभामुख ओनसरी घर्ती, नेकपा एमालेका मणिराम फुयाँल, राप्रपाकी कुन्ती पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम, नेपालका लागि नेपाली पार्टीका राममणि नेपाल लगायतका रहेका छन्।
त्यसैगरी, जसपाका गोपालबहादुर तण्डुकार, नेमकिपाका अनिल श्रेष्ठ, लोसपाका मधुसुदन गोर्खाली, जनमत पार्टीका गणेशप्रसाद पुडासैनी, मौलिक जरोकिलो पार्टीका गणेश पोखरेल, हाम्रो नेपाल पार्टीका कोषराज सुवेदी, राप्रपा नेपालका महेश बास्तोला, मंगोल नेसनल अर्गानाइजेसनकी सीता तामाङ, गान्धीवादी पार्टीका विदुरप्रसाद सिम्खडा, राष्ट्रिय जनमुक्ति पार्टीका चिरञ्जिवी राई, कांग्रेस बीपीका हेमविक्रम सिलवाल, नेपालवादका ईश्वर गौतम, विवेकशील साझाका धनेज थापा, सचेत नेपाली पार्टीका पुण्यप्रसाद प्रसाईं रहेका छन् । स्वतन्त्र उम्मेदवारमा प्रकाश अधिकारी, काशीराज पुडासैनी, अनुप बोहोरा, विनोदप्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खड्का, बलराम चौलागाईं, कृष्ण अधिकारी र कृष्णराम पुरी छन् ।
उम्मेदवारमध्ये घर्ती माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य र पूर्वसभामुख हुन्। त्यसैगरि, २०७४ सालमा चुनाव लडेका फुयाल वाग्मती प्रदेशसभाका सांसद हुन्। राप्रपाकी उम्मेदवार पोखरेल विभिन्न धार्मिक तथा सामाजिक अभियानसँग सक्रिय भएर जोडिएकी व्यक्ति हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विभिन्न सामाजिक अभियानमा संलग्न अभियन्ता एवं अधिवक्ताहुन् भने नेपालका लागि नेपाली पार्टीका राममणि नेपाल धार्मिक तथा साँस्कृतिक अभियन्ता हुन् ।
उम्मेदवार रहेकी ओनसरी घर्तीले समग्र क्षेत्रका विकास आयोजनाहरु सञ्चालन गर्ने योजना अघि सारेकी छिन्। अर्कोतर्फ, राप्रपाकी उम्मेदवार पोखरेलले विकास निर्माणको अतिरिक्त युवालाई राजनीतिमा सहभागिताको विषयलाई मुद्दा बनाएकी छिन्। यता एमाले तर्फबाट उम्मेदवार भएका फुयाँलले घोषणा पत्रमा उल्लेख भएका विषयहरुलाई मुद्दा बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम पनि युवाको राजनैतिक हस्तक्षेपका लागि उम्मेदवार भएकी हुन्। अर्कोतर्फ़, नेपालका लागि नेपाली पार्टीका राममणि नेपालले सनातन संस्कृतीको सम्वर्द्धन गर्दै देशका लागि आर्थिक क्षेत्रमा टेवा पुर्याउने हेतुका साथ अघि बढ्ने संकल्प गरेका छन्। नेपालमा भईरहेको संस्कृतिक विचलन र यसमा भईरहेको हस्तक्षेप निर्मुल पार्न उनले उम्मेदवारी दिएका हुन्। उनको मूल योजना नै देशमा भईरहेको साँस्कृतिक विकृति र विसंगतिलाई हटाउदै यसको मूल पहिचानलाई जोगाई आर्थिक तथा साँस्कृतिक समृद्धि हासिल गर्ने हो।
समग्रमा हेर्दा, यस क्षेत्रमा विगतमा कतिपय हेभिवेट उम्मेदवार पराजित हुन पुगेका छन् भने यसै क्षेत्रबाट चुनाव जितेपछि राष्ट्रिय राजनीतिमा चम्किएका पनि छन् । यस क्षेत्रको चुनावी प्रतिस्पर्धा अत्यन्तै रोचक छ। आउँदो मंसिर ४ को चुनावले यसको नतिजा देखाउने छ।
Comments