मेगा बैंकले ल्यायो घरजग्गा रोक्का-फुकुवा बैंकबाटै हुने सुविधा!
मेगा बैंक नेपालले सेवाग्राहीलाई घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा गराउन भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिई घरजग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको मेगा बैंकले एक विज्ञप्तिमा जनाएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित एक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी भएको हो।
अबदेखि घरजग्गाको रोक्का तथा फुकुवाका लागि बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेस गरे पुग्ने बताईएको छ।
Comments