नेपाल टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई एसएमएस पठाउने सेवा!

नेपाल टेलिकमले कम्पनीका सेवाग्राहीले आफ्नो मोबाइलबाट एकैपटक भारी मात्रामा ग्रुप मेसेज पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने बताईएको छ। 

उक्त अफरअन्तर्गत २ हजार, ५ हजार र १० हजारवटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ। प्रति मेसेज मात्र ५० पैसामा पठाउन सकिने यस अफरमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १ हजार लाग्ने बताईएको छ। 

त्यसैगरी रु. २ हजार ५०० मा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र रु. ५ हजारमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ। कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश छैन।  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ। साथै, सन्देशको शब्द तथा भावलगायतका बारेमा सेवाग्राही स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने बताईएको छ। यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले बताएको छ।

Comments

Back to top