मर्जरको लागि इन्भेष्टमेन्ट र मेगा बैंकको डीडीए रिपोर्ट तयार, हिमालयन र सिभिल बैंकको अन्तिम चरणमा

हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट अन्तिम चरणमा पुगेको छ। अहिले दुवै बैंकको आन्तरिक काम भईरहेको बताईएको छ।

नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता बसेको सञ्चालक समितिले दुुवै बैंकको मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको थियो। गत असार २९ मा हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।

सम्भौताअनुुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयनको ८१ कित्ता सेयर पाउनेछन् भने मर्जरपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ। यस्तै बैंकको सञ्चालक समितिमा पनि अहिलेको हिमालयनका सदस्यहरु नै रहनेछन्। यस्तै ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)को मर्जर समितिले पनि डीडीएकै काम गरिरहेको बताइएको छ ।

यस्तै, मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ । दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको हो । डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियो कायम भएको बैंक सञ्चालकले बताएका छन् ।


यी दुई  बैंकले जेठ २७ गते एक आपसममा मर्जरमा जाने सहमति गरेका थिए । दुबै बैंकको डीडीए रिपोट तयार भएकोले अन्य आन्तरिक प्रक्रिया मिलाएर ढिलोमा पुससम्म एकीकृत कारोबार गरिसक्ने गरी दुबै बैंकले प्रक्रिया अघि बढाएका छन् ।

सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छन् ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंकको स्वाप रेसिया १००ः ९० गर्दा मेगा बैंकको चुक्ता पुँजी १४ अर्ब ५० करोड ८४ लाख हुन आउँछ ।
 

 

Comments

Back to top