उद्योगी विनोद कुमार चौधरीको प्रेरणादायी कथा
वाई वाई चाउचाउ र चौधरी ग्रुपसँगै नाम जोडिने उद्योगी विनोद चौधरीलाई नचिन्ने सायदै कोही होलान्। आउनुहोस् आज हामी उनको सफलताको कथा पढौँ ।
विनोद कुमार चौधरीको जन्म १४ अप्रिल १९५५ मा भएको हो । उनी एक अरबपति व्यवसायी र परोपकारी व्यक्ति हुन्।
सन् २०१३ को फेब्रुअरीमा उनलाई नेपालको सबैभन्दा धनी व्यक्ति र एक मात्र अर्बपतिको रूपमा मान्यता दिइएको थियो। सन् २०१३ देखि उनको कुल सम्पत्ति १.७ बिलियन अमेरिकी डलर पुगेको छ। वितरण, खुद्रा र उत्पादनमा केन्द्रित उनको व्यवसायको अतिरिक्त, उनले पुस्तक लेखन र चलचित्र निर्माण आदि पनि गरेका छन्।
विनोद कुमार चौधरीको जन्म काठमाडौंमा भएको थियो । उनी एक मारवाडी परिवारमा जन्मिएका थिए। उनका हजुरबुवा, भुरामल दास चौधरी, एक उद्यमी थिए जसले टेक्सटाइल व्यवसाय सुरु गरेका थिए। उनका बुबा पनि एक व्यापारी थिए जसले आफ्नो बुवाको व्यवसायलाई थप विकसित गरे। आफ्नो करियरको शुरुवातमा चौधरीले पारिवारिक व्यवसायमा लाग्नुको साटो थप शिक्षा हासिल गर्न रोजेका थिए ।
चौधरी आफ्ना हजुरबुवा र बुबालाई प्रेरणाको रुपमा लिन्छन् । उनी दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलालाई देशमा स्वतन्त्रता ल्याएकोमा र व्यापारी जे. आर. डी. टाटालाई 'दुर्लभ विशिष्टताको कम्पनी निर्माण गर्न' सक्षम भएकोमा प्रशंसा गर्छन्।
उनका हजुरबुवा भुरामलदास चौधरी १९ औं शताब्दीमा भारतको राजस्थानबाट नेपाल बसाइँ सरेका थिए । २० वर्षको उमेरमा नेपाल आएपछि उनले टेक्सटाइल व्यवसाय सुरु गरेका थिए । केही वर्षपछि, सन् १९३४ को नेपाल-बिहार भूकम्प पछि, उनी औपचारिक रूपमा दर्ता गरिएको कपडा कम्पनी सुरु गर्ने नेपालमा पहिलो व्यक्ति बने। उनका पिता, लुनकरण दास चौधरीले टेक्सटाइल व्यवसायको विकास जारी राखे र अन्तर्राष्ट्रिय-व्यापारिक घरहरुको साथै एक निर्माण कम्पनी पनि स्थापना गरे। सन् १९६८ मा लुनकरण दास चौधरीले अरुण एम्पोरियम नामक खुद्रा स्टोरको स्थापना गरेका थिए, जुन उनको सबैभन्दा सफल उद्यम थियो।
अठार वर्षको उमेरमा, विनोद चौधरी चार्टर्ड एकाउन्टेन्सी अध्ययन गर्न भारत जान लागेका थिए, तर अचानक उनको बुबालाई हृदय रोगको निदान गरियो। डाक्टरले उनका बुवालाई पारिवारिक व्यवसाय छोड्न सल्लाह दिए। बिनोद चौधरी परिवारको जेठो छोरा भएकोले उनले व्यवसाय प्रमुखको रूपमा जिम्मेवारी लिए। उनले द टेलिग्राफलाई भनेका थिए, "मेरो जीवन रातारात पूर्ण रूपमा परिवर्तन भयो। मसँग कुनै विकल्प नै थिएन । तर यसले मलाई अझ कडा मानिस बनाएको छ।"
सुरुमा उनले नेपालमा जापानी सुजुकीका कार आयात गर्ने विचार गरे । उनले आफ्नो पुस्तकमा लेखेका छन्, "सुजुकीले मलाई विश्वास गरेन किनकि म एक जवान कपडा व्यापारी थिएँ।तर, मैले उनीहरूलाई विश्वास दिलाएँ। उनीहरूले मलाई नेपालमा सुजुकी बेच्नका लागि अन्य चार जनासँग ट्रायल डिलरसिप दिए र भने जसले ६ महिनामा सबैभन्दा धेरै कार बेच्छ, उसले डिलरसिप पाउँछ।"
उनको पहिलो स्वतन्त्र व्यवसाय सन् १९७३ मा कपर फ्लोर भनिने डिस्कोथेक कम्पनी थियो। क्लबभ्रमण गर्ने धेरै धनी र शक्तिशाली व्यक्तिहरूको कारण कम्पनी ठूलो सफलता बनेको थियो। सन् १९७९ मा, चौधरीले जापानी इलेक्ट्रोनिक फर्म नेशनल पानासोनिकसँग सम्झौता गरे, जुन उनको पहिलो बहुराष्ट्रिय सम्झौता थियो।
सन् १९८४ मा चौधरीले नेपालमा भित्र्याएको इन्स्ट्यान्ट नुडल्सको ब्रान्ड वाई वाई कम्पनीको बेस्टसेलर बनेको थियो। चौधरीले २३ वर्षको उमेरमा आफ्नो पारिवारिक कम्पनीको जिम्मा लिएका थिए । यसरी, आफ्नो पैत्रिक व्यवसायलाई आधुनिकरण गर्दै उद्यमी बिनोद चौधरीले नाम र दाम दुबै बनाए । उनको सफलताको कथाले अरु नेपाली उद्यमीहरुलाई पनि प्रेरणा दिएको छ ।
Comments