एचआईडीसीएलको संस्थापक सेयर १५ साउनदेखि पुनः लिलामी गरिने

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १५ साउनबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी गर्ने भएको छ । यसअघि ५-१९ असारसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी गर्न लागेको हो ।

यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ । बोलपत्र पेस गर्ने म्याद २९ साउनसम्म तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ ।

त्यस्तै ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Comments

Back to top