अजरबैजान एअरलाइन्सले खुलायो कजाकिस्तानमा आफ्नो विमान दुर्घटना हुनुको कारण
अजरबैजान एअरलाइन्सले बाह्य प्राविधिक हस्तक्षेपका कारण डिसेम्बर २५ मा कजाकिस्तानमा आफ्नो विमान दुर्घटना भएको जनाएको छ।
दुर्घटनामा विमानमा रहेका ६७ जना मध्ये कम्तीमा ३८ जनाको मृत्यु भएको कजाख अधिकारीहरूले पुष्टि गरेका छन्, जसमा दुई पाइलट र एक उडान परिचर पनि छन् ।
काजाकिस्तानको यातायात मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जहाजमा अजरबैजान, रुस, काजाकिस्तान र किर्गिस्तानका नागरिक थिए ।
अजरबैजान एअरलाइन्सले भन्यो, ‘क्रिसमसको दिन काजाकिस्तानमा जेट दुर्घटनाग्रस्त हुनुमा भौतिक र प्राविधिक बाह्य हस्तक्षेप हुनसक्छ ।’
प्रारम्भिक अनुसन्धानअनुसार रूसको सम्भावित संलग्नताको बारेमा प्रश्नहरू उठेको थियो । युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यो विमान दुर्घटनामा रुसलाई दोष दिएका छन् ।
एक खोज टोलीले विमानको ब्ल्याक बक्स फेला पारेको छ । अजरबैजान र काजकिस्तान दुबैले दुर्घटनाको कारणबारे अनुसन्धान थालेका छन् ।
समाचार एजेन्सी रोयटर्सकाअनुसार विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।
रोयटर्स समाचार एजेन्सीले प्रमाणित गरेको भिडिओमा ल्यान्डिङ गियर डाउन भएको विमान तीव्र गतिमा जमिनतर्फ गइरहेको देखिन्छ ।
अवतरण गर्ने प्रयास गरेको सेकेन्डपछि ठूलो फायरबल विस्फोट भएको देखिन्छ । भिडिओमा विमान दुर्घटना हुनुअघि एयरफिल्डमा अनियमित परिक्रमा गरिरहेको देखिन्छ ।
एजेन्सी
Comments