युक्रेनमा बिजुली आपूर्ति बन्द गर्ने स्लोभाकियाको चेतावनी
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा बिजुली आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन् । रुसबाट युक्रेन हुँदै अहिले स्लोभाकियामा ग्यासको आपूर्ति हुँदै आएको छ ।
युक्रेनले अब आफ्नो भूमि हुँदै रुसबाट स्लोभाकिया जाने ग्यास पाइपलाइनको सम्झौता नवीकरण नगर्ने बताएपछि स्लोभाकियाले पनि युक्रेनमा बिजुली रोक्ने चेतावनी दिएको हो ।
रुसबाट युक्रेन हुँदै स्लोभाकिया जाने ग्यास पाइपलाइनको सम्झौता आउँदो हप्ता समापन हुँदैछ । रुस र स्लोभाकियाले सम्झौता नवीकरण गर्ने तयारी गरे पनि युक्रेनले इन्कार गर्दै आएको छ ।
स्लोभाकियाका प्रधानमन्त्री फिकोले भनेका छन्, ‘यदि आवश्यक भएमा, हामी विद्युतको आपूर्ति रोक्नेछौँ, जुन युक्रेनलाई आजको समयमा अत्यावश्यक छ ।’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन हुँदै स्लोभाकियामा जाने रुसी ग्यासको निरन्तरतामा विरोध गरेपछि फिकोको टिप्पणी आएको हो ।
यदि रुसी ग्यासको आपूर्ति रोकिएमा युरोपेली युनियनले दुई वर्षमा एक सय २० अर्ब युरो खर्च गरेर अर्को योजना बनाउनुपर्नेछ । किनकी, स्लोभाकियाबाट ठूलो मात्रामा युरोपमा ग्यास निर्यात हुँदै आएको छ ।
रुसी ग्यास अरु देशलाई बेचर स्लोभाकियाले हरेक वर्ष कमाउँदै आएको ५० करोड डलर भन्दा धेरै आम्दानी पनि गुम्नेछ ।
स्लोभाकियाका प्रधानमन्त्री फिकोले रुस–युक्रेन शान्ति वार्ता आयोजना गर्न पनि तयार रहेको बताएका छन् ।
एजेन्सी
Comments