समुद्री मार्गबाट स्पेन पुग्ने प्रयास गर्दा एकै वर्ष १० हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गयो

सकिनै लागेको अङ्ग्रेजी वर्ष सन् २०२४ मा समुद्री मार्गबाट स्पेन पुग्ने प्रयास गर्दा १० हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको छ ।

स्पेनिस आप्रवासन अधिकार समूहले जारी गरेको एक रिपोर्टअनुसार सन् २०२४ को जनवरीदेखि यही डिसेम्बर १५ तारिखसम्ममा स्पेन जाने क्रममा १० हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको हो । यसको अर्थ यस वर्ष डुङ्गाबाट स्पेन जान खोज्दा हरेक दिन ३० जनाले ज्यान गुमाएका छन् । गएको वर्षको तुलनामा कुल मृत्युदर ५८ प्रतिशतले बढेको पनि रिपोर्टमा उल्लेख छ ।

सन् २०२४ मा १०औं हजार आप्रवासी पश्चिम अफ्रिकाबाट अफ्रिकी तट नजिकैको स्पेनी द्वीप क्यानरी टापुका लागि गएका थिए । क्यामिनान्डो फ्रन्टेरास संस्थाले मृतकहरूमध्ये एक हजार पाँच सय ३८ बालबालिका र चार सय २१ जना महिला रहेको जनाएको छ । अप्रिल र मे महिना सबैभन्दा घातक महिना थियो ।

सन् २०२४ मा मौरितानियाबाट डुङ्गा चढेर स्पेन जान खोज्ने आप्रवासीको सङ्ख्यामा तीव्र वृद्धि भएको खबरमा उल्लेख छ । स्पेनको आन्तरिक मन्त्रालयले डिसेम्बरसम्म ५७ हजार जनाभन्दा धेरै आप्रवासी डुङ्गामा स्पेन आइपुगेको जनाएको छ ।

एजेन्सी

Comments

Back to top