सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिंदै

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बेलुका ५ बजे सकिंदैछ । सत्तारूढ गठबन्धनभित्र भएको छलफल अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको भए पनि एमालेले औपचारिकरुपमा समर्थन गरिसकेको छैन ।

एकीकृत समाजवादीले पहिलोपटक चैत २३ मा सरकार गठनका लागि दिइएको समयमा कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो । चौधरीले वैशाख २ मा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

एमाले र माओवादीको समर्थनमा नाउपाकै अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले निष्कर्षमा पुग्न नसकिएको भन्दै सरकार गठनका लागि पुनः आह्वान गरेका थिए ।

यो बीचमा एकीकृत समाजवादीका सोडारीले लक्ष्मणकिशोरलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।

एजेन्सी

Comments

Back to top