नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आज

नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा आज वैशाख १८ गते मंगलबार बस्ने भएको छ । बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ ।

किनभने लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते बुकक्लोज गरिसकेको छ ।

तसर्थ, वैशाख ९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । साधारण सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top