रुसी हवाई आक्रमण रोक्न जर्मनीले युक्रेनलाई 'प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाएर सहयोग गर्ने

जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी हवाई आक्रमणलाई रोक्न मद्दत गर्न युक्रेनमा थप ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने भएको छ । 

“युक्रेनी सहरहरू र मुलुकको पूर्वाधारविरुद्धको रुसी आतङ्कले असह्य पीडा निम्त्याइरहेको छ”, जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले उक्त कदमको घोषणा गर्दै भने, “यसले जनताको ऊर्जा आपूर्तिलाई खतरा पुर्याइरहेको छ र युक्रेनी सशस्त्र बलहरूको परिचालन तयारीलाई नष्ट गरिरहेको छ ।”

जर्मनीले युक्रेनलाई आपूर्ति गरेको यो तेस्रो प्याट्रियट सिस्टम हुनेछ । रक्षा मन्त्रालयले युक्रेनी सरकारको अनुरोध र सहयोगीहरूँगको समन्वयमा यस्तो निर्णय लिइएको बताएको छ । 

जर्मन चान्सलर ओलाफ सोल्सले शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फोनवार्तामा ‘ठूलो मात्रामा र विशेषगरी नागरिक ऊर्जा पूर्वाधारमा जारी रुसी हवाई हमलाको सामना गर्दै युक्रेनसँग आफ्नो अटुट ऐक्यबद्धता’ को पुष्टि गर्नुभएको जर्मन सरकारका एक प्रवक्ताले बताएका छन् । 

जर्मनीले नयाँ प्याट्रियट सिस्टमको डेलिभरीमाथि छलफल गर्नुका साथै सोल्स र जेलेन्स्की युक्रेनको हवाई रक्षाको प्रवर्द्धन गर्नका लागि ‘साझेदारहरूबाट थप प्रयासहरू पनि आवश्यकता छ’ भन्ने कुरामा सहमत भएको प्रवक्ताले बताए । 

एजेन्सी

Comments

Back to top