सात बानी जसले निद्रामा पार्छन् प्रभाव

कतिपय मानिसको जीवनमा केही त्यस्ता बानी हुन्छन् जसले निद्रा प्रभावित पार्दछ । राम्रो र भरपूर निद्रा चाहनुहुन्छ भने यी बानी छोड्नुपर्ने हुन्छ ।

जानौं ती खराब बानी व्यवहार जसलाई त्यागेर निद्रामा गुणात्मकता ल्याउन सकिन्छ ।

रातको समयमा कफी पिउने

ढिला रातको समयमा कफी पिउँदा निद्रा प्रभावित हुन्छ । कफीमा क्याफिनको मात्रा हुन्छ जसले निद्रा भगाउँछ । त्यसैले छिटो निद्रा लाग्दैन । राम्रो निद्राका लागि रातमा कफी पिउन बन्द गर्नुहोस् ।

रातिसम्म मोबाइल वा टिभी हेर्ने

धेरै मानिस रातमा लामो समय टेलिभिजन वा मोबाइलमा भुलिरहेका हुन्छन् । यसले आँखाको ज्योती त खराब हुन्छ नै साथमा निद्रा नलाग्ने समस्या पनि हुन थाल्छ । निद्रा लागेन भनेर मोबाइल समय अझ बढाउँदा झनै नकारात्मक असर गर्छ ।

ढिला कसरत गर्ने

कतिपयको बानी हुन्छ रातको समयमा जिम जाने वा कसरत गर्ने । कसरतका लागि पनि त्यति ढिला समय ठिक हुँदैन । शरीरमा ऊर्जा थपिँदै जान्छ जसले गर्दा निद्रा लाग्दैन ।

रक्सी वा धुमपान

रक्सी पिउने तथा धुमपान गर्ने बानीले पनि निद्रामा प्रभाव पार्दछ । कतिपय मानिसले यसको लतका कारणले भरपूर निद्रा लिन पाउँदैनन् ।

कामको तनाव

कतिपयले कामलाई एकदमै तनावको रुपमा लिन्छन् जसले गर्दा निद्रा प्रभावित हुन्छ । धेरै तनाव लिँदा अन्य मानसिक समस्या पनि आउन सक्छ । त्यसैले कामका बारेमा धेरै तनाव लिनुहुँदैन ।

उज्यालोमा सुत्नु

राति धेरै उज्यालोमा सुत्नु पनि खराब बानी हो । यसले निद्रामा प्रभाव पार्दछ । उज्यालोमा निद्रा छिटो लाग्दैन। लागेर बीचमा खल्बलियो भने पनि लामो समय फेरि निद्रा लाग्दैन । त्यसैले बत्ती निभाएर सुत्ने बानी बसालौं ।

स्याचुरेटेड फ्याटको सेवन

हाम्रो खानपानले पनि निद्रामा प्रभाव पार्दछ । रातको समयमा स्याचुरेटेड फ्याट भएका खाना खाँदा पनि निद्रा प्रभावित हुन्छ । त्यसैले राम्रो निद्राका लागि विशेषगरी साँझ वा रातको खाना हल्का तथा स्वस्थकर खानुपर्दछ ।

Comments

Back to top