सजिलो डिजिटल नम्बर प्लेट प्रणाली ‘कता हो’ सुरु

नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कता हो’ सञ्चालनमा आएको छ । काठमाडौंमा बिहीबारदेखि सुरु भएको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘कता हो’को औपचारिक उद्घाटन गरेकी हुन् ।

पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिने बताइएको छ । देशको सम्पूर्ण भू–भागलाई १५ अर्ब दुई करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिई यो प्रणाली तयार गरिएको नवप्रवर्तनको क्षेत्रमा सक्रिय राम र लक्ष्मण रिमालले बताए । उनीहरूका अनुसार ‘कता हो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । राम र लक्ष्मण ग्रुप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो ।

यो डिजिटल ठेगाना प्रणालीमा सामुदायिकरूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत राख्न सकिन्छ । यो प्रणाली सबैका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ । ‘कता हो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेस ग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् सेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारीरूपमा गर्न सक्छन् । गाउँ तथा नगरपालिकाहरूले यसको प्रयोग गरेर विभिन्न प्रकारका लगत संकलन गर्न सक्छन् । सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरूले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नक्सामै कुन–कुन क्षेत्रका कुन–कुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि प्रस्टै देखिन्छ ।

पालिकाले दैनिक गर्नुपर्ने कामजस्तैः फोहर व्यवस्थापन, सामाजिक सुरक्षा, अनुगमन, सूचना तथा जानकारीलगायतमा ‘कता हो’ डिजिटल ठेगाना प्रणालीलाई प्रत्यक्ष प्रयोग गर्न सकिन्छ । दैविक विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुने बताइएको छ । कम्पनीका अनुसार ‘कता हो’ वेब र मोबाइल एप (एन्ड्रोइड र एप्पल) भर्सनमा उपलब्ध छ ।

Comments

Back to top