सूर्याज्योति लाइफ इन्स्योरेन्सको नाफा ६३ प्रतिशत बढ्यो

सूर्याज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ६३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म कम्पनीको खुद नाफा २३ करोड ६६ लाख ३० हजार रुपैयाँ छ ।

गत वर्षको यसै अवधिमा यस्तो नाफा १४ करोड ५२ लाख ३२ हजार थियो । दुई बीमा कम्पनी सूर्या र ज्योति लाइफ इन्स्योरेन्स गत वर्षको पुसमा एकआपसमा मर्ज भई सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो ।

मर्ज भई बनेको यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बीमितलाई प्रदान गरिएको ऋणको ब्याज र लगानीवापतको आम्दानी बढ्दा खुद नाफा बढेको देखिन्छ ।

बीमितबाट भएको ब्याजवापतको आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ३७ लाख रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा १७ करोड ७२ लाख पुगेको छ ।

त्यस्तै सोही समीक्षा अवधिमा लगानीवापतको आम्दानी ७६ करोडबाट बढेर १ अर्ब ४९ करोड पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ।

Comments

Back to top