अल्सरका बिरामीले के खाने, के नखाने ?

पेटको अल्सर हुनु भनेको पेटमा घाउ वा प्वाल पर्नु हो । यस्तो किन हुन्छ ? जवाफ एक मात्र छैन । यद्यपि पेटको अल्सरमा खराब खानपान प्रमुख जिम्मेवार छ । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ।

गलत खानपान मुख्य कारण भएकाले अल्सरको बिरामीले औषधिसँगै खानपानमा पनि ध्यान दिनुपर्छ । अल्सरको समस्या भएका बिरामीलाई खानपानमा विशेष ध्यान दिन डाक्टरहरू सुझाउँछन् । उपचारको साथै उचित खानपिनमा ध्यान दिइयो भने अल्सरबाट छिट्टै राहत पाउन सकिन्छ । त्यसैले पेटमा अल्सर हुँदा के खाने र के खानु हुँदैन भन्ने विषयमा जान्नुपर्छ ।

के नखाने ?

अल्सरमा रातो मासु सकेसम्म नखानु उत्तम हुन्छ । रातो मासु पच्न समय लाग्ने भएकाले अल्सरको समस्या बढाउन यसले भूमिका खेल्छ । अल्सरको समस्या भएका व्यक्तिले दूधजन्य उत्पादन दूध, बटर, पनिर, घिउ आदिको प्रयोग पनि कम गर्नु उपयुक्त हुन्छ । दूध खानै परे पनि फ्याट निकालेर वा बाक्लो दूधमा पानी मिसाएर खानु ठीक हुन्छ ।

घरमा प्रयोग हुने मसलाहरू खान मिल्छ । तर प्याकेटका खानेकुरा, जंकफुड बजारमा पाइने धेरै मसालेदार खानेकुराको प्रयोग गर्नु हुँदैन । मद्यपान, धुम्रपान, कोल्ड ड्रिंकजस्ता खानेकुरा खानु हुँदैन । बट्टामा हालिएको अमिलो अचार चुक अमिलो पनि नखानु नै राम्रो हुन्छ ।

के खाने ?

हामीले दैनिक रूपमा दाल, भात, तरकारी र सागसब्जी खान्छौं । यी खानेकुरामा भिटामिन मिनरल्स हुन्छ । त्यसैले सादा र सन्तुलित खानालाई पहिलो प्राथमिकता दिनुपर्छ ।

प्रोटिनयुक्त खानेकुरा कुखुराको मासु, अण्डाको सेतो भाग खाइयो भने घाउ अलि छिटो भरिन्छ । त्यसैले यस्ता खानेकुरालाई दैनिक खानामा समावेश गर्नुपर्छ । हरियो सागसब्जी, सलाद, दही लसुनजस्ता खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्न सक्रिय बनाउँछ । यस्ता खानेकुरा पनि खानु उपयुक्त हुन्छ ।

Comments

Back to top