प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण जेठको दोस्रो हप्तादेखि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन बाँकी छ । प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीमा दुवै देश जुटेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने दुवै देशको सहमतिमा चाँडै नै मिति तय हुने बताइन्।

परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् । उनीहरूलाई मन्त्रालयमा नै बोलाएर बिहीबार र शुक्रबार मन्त्री साउदले छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि भारत भ्रमणको तयारी थालिसकेको छ । विभिन्न मन्त्रालयका एजेन्डाहरू मगाएर त्यसमा छलफल गरिएको छ ।

भारत भ्रमणको क्रममा जलविद्युत, दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइनलगयातको विषयमा सहमति गर्ने तयारी छ । ती एजेन्डामा प्रधानमन्त्री कार्यालयले सम्बन्धित विज्ञहरूसँग छलफल सुरु गरेको बताइएको छ ।

Comments

Back to top