रवीन्द्र पुरी र उनको कलात्मक उद्यम ‘नमूना घर’

सामाजिक उद्यमी रवीन्द्र पुरी आफू वरपरको साँस्कृतिक विनाश देखेर कला र सम्पदालाई जोगाउन प्रेरणा लिन्छन्। उनी नेपालका पहिलो व्यक्ति हुन् जसले २००४ मा युनेस्को एशिया प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार जितेका थिए। उनले बनाउने ‘नमूना घर’ आधुनिकता र संस्कृतिको अनुपम मिश्रण हो ।

रविन्द्र पुरी बाल्यकाल देखि नै कला र वास्तुकला मा गहिरो रुचि राख्थे। जब उनि स्कुलमा पढ्थे तब उनी ललित कला पढ्न चाहन्थे। तर उनका बुबाले भने उनलाई कानून पढ्न राजी गराउनुभयो। सौभाग्यवश उनले कानुनसँगै ललितकला पनि पढ्न पाए। उनले महत्वाकांक्षा, जिज्ञासा र कडा परिश्रमले गर्दा १९९३ सम्म कानून, ललित कला, इतिहास र व्यवस्थापनको चार स्नातक डिग्री पूरा गरे। आफ्नो बुबाको मृत्यु पछि उनले आफ्नो परिवारको लागि काम गर्न आवश्यक थियो। भाग्यवश, उनले पाटन संग्रहालयको पुनर्स्थापनामा काम गर्ने मौका पाए जहाँ उनले नेपाली वास्तुकलाका बारेमा धेरै कुरा सिके। उनले सुरुमा खुसीसाथ काम गरे र बिस्तारै महसुस गर्न थाले कि उनी वास्तवमा संस्कृति संरक्षण गर्न जन्मेका हुन्। सुन्दर पुराना घरहरू निर्दयी ढंगले भत्काएर कुरूप कंक्रीटको आकार दीइँदा उनको मन सधैं रोइरहन्थ्यो। 

धेरै राम्रो तलब भएको जागिर छोडेर कुनै पनि सोचनीय भविष्य नभएको काम सुरु गर्न उनलाई त्यति सजिलो थिएन। तर पनि उनले आफ्नो मनको आवाज सुन्ने निर्णय गरे। उनले राजीनामा दिए र पुराना भवनहरु पुनर्स्थापना गर्न थाले। सुरुमा सबैले सोचेका थिए कि उनी पागल भइसकेका छन् । तर, उनको पहिलो काम शहरको चर्चा बन्यो र भक्तपुर नगरपालिकाले त्यसलाई “नमूना घर” घोषणा गर्यो। उनि २००४ मा एशिया प्यासिफिक कल्चरल हेरिटेज अवार्डबाट सम्मानित हुने पहिलो नेपाली हुन पुगे | नमुना घरले यस्तो स्थानीय र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुको एउटै कारण थियो कि घरलाई पूर्ण रूपमा परम्परागत शैलीमा पुनर्स्थापित गरिएको थियो। कुरूप कुखुरा फार्म हाउसलाई सुन्दर आकर्षक परम्परागत घरमा परिणत गरिएको थियो। उनका उपलब्धिले उनलाई र अरूलाई धेरै हौसला प्रदान गर्यो।

पुरीलाई २०१५ को भूकम्पले वास्तुकलाको भावनात्मक टुक्राहरूमा ध्यान आकर्षित गर्न मद्धत पुर्यायो। एक अन्तर्वार्तामा रविन्द्र पुरीले सबै घरहरू पुनर्निर्माण र परम्परागत शैलीमा नयाँ निर्माण गर्दा आफूलाई निकै सन्तोषजनक लागेको बताए । उनको शौक उनको पेशा बन्यो। कला र वास्तुकलाले भरिपूर्ण आफ्नो जन्मस्थल भक्तपुरले गर्दा नै उनमा पनि कलात्मक प्रकृति रहेको उनको बुझाइ छ । साथसाथै, रविन्द्र पुरीजस्ता उद्यमीले गर्दा कलासंस्कृति बचिरहेको छ र देशको दीगो आर्थिक विकासमा पनि टेवा पुगिरहेको छ । उनको संस्थामा सयौँ नेपालीहरुले रोजगार पाईरहेका छन् । पुराना घरहरूको पुनर्निर्माण र परम्परागत शैलीमा नयाँ निर्माणले देशमा परम्परागत सीप र वास्तुकलाको संरक्षण तथा उद्यम गर्ने प्रवृत्तिमा समेत ठूलो योगदान गरिरहेको देखिन्छ।

Comments

Back to top