शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए ।
“हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ”, तौहिद हुसेनले पत्रकारहरूलाई भने । अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो ।
७६ वर्षीया हसिना भारत भागिन् र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताएका थिए ।
युनाइटेड किङ्गडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएका थिए ।
एजेन्सी
Comments