राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय सञ्चालन
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन सञ्चालनमा ल्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन उद्घाटन गर्दै रावा बैङ्कलाई एक नम्बर बैङ्क बनाउने गरी कार्य गर्नुपर्ने बताए ।
बदलिँदो समयसँगै सबै कुरालाई रूपान्तरण गरी अग्रणी बैङ्क बनाउनुपर्नेमा जोड दिँदै उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैङ्कले प्रवाह गर्ने सेवा र दिने सुविधालाई समयसापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्ने गरी कार्य गर्न बैङ्क व्यवस्थापनलाई आग्रह गरे । सेवा विस्तारमा सक्रियतासाथ लागेको वाणिज्य बैङ्कले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैङ्क बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । ढुङ्गानाले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जालगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैङ्कले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवं पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए ।
प्रमुख कार्यकारी अधिकृत खनालले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैङ्कको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए।
प्रतिस्पर्धी बजारको माग अनुसार बैङ्कले सेवा र सुविधालाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैङ्कले आफ्नो कार्यलाई परिमार्जित रूपमा अगाडि बढाएको बताए।
एजेन्सी
Comments