बच्चालाई किताब पढेर सुनाउँदा हुन्छन् यस्ता फाइदा
भनिन्छ किताब हाम्रो सबैभन्दा राम्रो साथी हो । त्यसैले सबैले किताब पढ्नुपर्दछ । किताब पढ्नाले ज्ञान प्राप्त हुनुका साथै जीवन जिउने तरिका बारे पनि जान्न सकिन्छ ।
त्यसैले अत्यधिक बाल विशेषज्ञले अभिभावकलाई बच्चालाई किताब पढेर सुनाउने सल्लाह दिन्छन् । आफ्ना बच्चासँग किताब पढ्ने र सुनाउने गर्दा बच्चाको रुचि बढ्छ । साथै उनीहरुले पढाईको महत्व पनि बुझ्न थाल्छन् ।
यसका साथै अर्को फाइदा भनेको किताबको ज्ञान हासिल गर्दा बच्चाको शारीरिक तथा मानसिक स्वास्थ्य दुवैलाई फाइदा हुन्छ । जानौं अरु केके छन् यसका फाइदा ।
दिमाग बलियो हुन्छ
किताब पढ्ने विषयलाई लिएर कैयौं सोध भएका छन् । जसमध्ये एउटा सोधका अनुसार जब कोही किताब पढ्दछ उसको मानसिक विकास हुन्छ । पढ्नका लागि मानव मस्तिष्कमा सर्किट र संकेतको एउटा जटिल नेटवर्क छ ।
जसरी तपाईंको पढ्ने क्षमता राम्रो हुन्छ, उक्त नेटवर्क पनि बलियो र अझै स्पष्ट हुँदै जान्छ । यदि तपाईं पनि आफ्नो बच्चा ठूलो भएर समझदार बनेको हेर्न चाहनुहुन्छ भने किताब अवश्य पढेर सुनाउनुहोस् ।
तनाव कम गर्छ
कतिपयलाई लाग्न सक्छ, बच्चालाई के को तनाव हुन्छ ? तर अहिलेको समयमा कतिपय अध्ययनबाट पत्ता लागेको छ बच्चा पनि तनावमा रहन्छन् । बच्चाको तनाव कम गर्नका लागि उनीहरुलाई प्रेरित हुने खालका केही क्रियाकलाप गराउन जरुरी हुन्छ ।
अभिभावकले उनीहरुलाई किताब पढेर सुनाउन सक्छन् । यसबारेमा सन् २००९ मा एउटा समूहले अमेरिकामा एउटा अध्ययन गरेको थियो जसबाट यो कुराको पुष्टि भयो, ३० मिनेट पढ्दा रक्तचाप, हृदयको गति तथा मनोवैज्ञानिक संकटको भावना त्यति नै रफ्तारमा घट्दछ जसरी योग गर्दा घट्ने गर्छ ।
एकाग्रता बढ्दछ
बच्चालाई दिनहुँ किताब पढेर सुनाउँदा एउटा अर्को राम्रो फाइदा हुन्छ, त्यो हो बच्चामा एकाग्रता बढ्छ । साथै उनीहरु अनुशासित भएर बस्न पनि सिक्छन् । धेरै अभिभावकले यो महसुस गर्नुभएको होला बच्चा एकाग्र भएर सोंच्ने वा बसेको कमै मात्र हुन्छ ।
त्यसैले उनीहरुलाई कतिपय समयमा एकाग्र हुन पनि आवश्यक हुन्छ । किताब पढ्ने बानीले उनीहरुमा एकाग्रताको विकास हुन्छ । जसले उनीहरुलाई सोंच्ने कार्यमा पनि रुचि आउन थाल्छ । यसले स्मरण शक्ति पनि बलियो बन्छ ।
कल्पनाशील शक्तिको वृद्धि
साना बच्चामा स्वभाविक रुपले पनि ठूला सपना देख्ने र ति सपनालाई पूरा गर्ने क्षमता पनि राख्दछन् । त्यसका साथै अभिभावकले यदि किताब पढेर सुनाउने गरेमा उनीहरुको कल्पना गर्ने क्षमता अझै बढेर जान्छ । कल्पना गर्ने बानीले बच्चा आफैमा खुशी हुन्छन् र राम्रो महसुस गर्दछन् । उनीहरुको कल्पना गर्ने क्षमताले उनीहरुको पढाईमा पनि फरक पार्दछ ।
एजेन्सी
Comments