बङ्गलादेश सरकारले पूर्व प्रधानमन्त्री हसिनालाई फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिने

मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ ।

हसिनासँगै उनको पार्टीका सम्पर्कविहीन भएका अरु नेताहरूलाई खोज्न पनि बङ्गलादेशले इन्टरपोलको सहयोग लिने भएको हो । बङ्गलादेशको अन्तरिम सरकारले इन्टरपोललाई ‘रेड कर्नर नोटिस’ जारी गर्न भनेको छ ।

यसअघि पूर्व प्रधानमन्त्री हसिना अपदस्थ हुनेगरी बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन भएकामा प्रहरीले गरेको कारबाहीमा ७ सयभन्दा धेरैको ज्यान गएको थियो । आन्दोलन चर्किएको समयमा हसिना देश छाडेर भाग्न बाध्य भएकी थिइन् ।

हसिना र अन्य अवामी लीगका नेताहरूमाथि जुलाई र अगस्टमा भएको विरोधलाई दबाउन प्रहरीलाई आदेश दिएको आरोप छ । नयाँ अन्तरिम सरकारले हसिनामाथि मानवताविरुद्धको अपराध गरेको आरोपसमेत लगाएको छ ।

एजेन्सी

Comments

Back to top