सुडानमा अर्धसैनिक बलको घेराबन्दीमा परेका २ सय जनाभन्दा धेरैको ज्यान गयो
सुडानमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) को घेराबन्दीमा परेका दुई सय जनाभन्दा धेरैको ज्यान गएको छ । शहर अल हिलालिया सहरमा आरएसएफको घेराबन्दीमा रहेका दुई सय जनाभन्दा धेरैको ज्यान गएको सुडानी डाक्टर सिन्डिकेटले जनाएको छ ।
घेराबन्दीमा रहेकाहरुमध्ये कतिपय रोग र भोकले, कतिपय चरम यातनाले र कतिपय रासायनिक विषाक्तताका कारण मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सुडानको विदेश मन्त्रालयले अल हिलालियामा एक सय २० जनाको सशस्त्र आक्रमण र खाद्य प्रदूषणका कारण ज्यान गएको जनाएको थियो ।
मन्त्रालयका अनुसार अल हिलालियालाई आरएसएफले १० दिनसम्म नाकाबन्दी गरेको छ, जसका कारण मानवीय सङ्कट बढिरहेको छ । सुडान सन् २०२३ को अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीचको द्वन्द्वमा फसेको छ । हिंसामा २४ हजार आठ सय ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।
एजेन्सी
Comments