पाकिस्तानको क्वेटा रेलवे स्टेशनमा विस्फोट हुँदा २१ जनाको मृत्यु, ४६ घाइते

पाकिस्तानको बलुचिस्तानस्थित क्वेटा शहरको रेलवे स्टेशनमा शनिबार बिहान बम विस्फोट भएको छ ।

यस विस्फोटमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । साथै, ४६ जना घाइते भएका छन् ।

अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । घटनाको बारेमा बीबीसीलाई जानकारी दिँदै बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसीम बेगले भने, “चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ ।”

क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले भने, “क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेशनमा विस्फोट भएको थियो । उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए ।”

घाइतेहरूलाई सिभिल अस्पताल, ट्रमा सेन्टरमा रिफर गरिएको छ । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

एजेन्सी

Comments

Back to top