विश्वका सर्वश्रेष्ठ साहित्यकार : शेक्सपियर

विश्वका सर्वश्रेष्ठ साहित्यकार शेक्सपियरको जन्म सन् २३ अप्रिल १५६४ मा बेलायतको रमणीय स्थल स्टेटफोर्ड अन एभनमा सामान्य परिवारमा भएको थियो । उनका पिता स्टेट फोर्डका एक पञ्जा बनाउने व्यापारी थिए भने उनकी आमा एओरी आर्डेन एक सामान्य किसान परिवारको छोरी थिइन् । उनका आठजना सन्तान मध्ये शेक्सपियर तेस्रो सन्तान थिए ।

उनको बालककाल सन्तोष प्रद नै थियो । तर उनी विद्यालयको अध्ययन भन्दा बाहिरी अध्ययनमा रमाउन थाले । उनलाई सात वर्षको उमेरमा स्कुल भर्ना गरिएको थियो। तर उनी किताबको किरो हुन रुचाएनन् । आफ्नो अध्ययनलाई उनले विराट बनाए । किशोर अवस्थामा नै उनले प्राचिन रोम कृतिहरु पढिसकेका थिए । विशेष गरेर सिसेर , ओभिड , रल्याट्स , सेन्स , टेरिन्स आदिका कृति पढेका थिए । शेक्सपियरका आमाबुबा,भाइबहिनी सब अनपढ थिए । तर शेक्सपियरले कसरी पढे ? कसरी यत्रो ज्ञान हासिल गरे ? त्यो एउटा रहस्य नै छ । शेक्सपियरले किशोर अवस्थामा नै आफ्नो मस्तिष्कलाई प्रखर बनाइसकेका थिए । तिनै व्यक्ति पछि बने विश्वका सर्वश्रेष्ठ साहित्यकार ।

नयाँ वा पुराना साहित्यकारहरु मध्ये सबभन्दा महान् छन् , शेक्सपियर । उनी महान् कवी र नाटककार पनि थिए । उनी जब जवान हुँदै गए , उनको ध्यान नाटकतिर पनि तानियो । उनी त्यसबेलाका शहरका बजारमा प्रदर्शन गरिने नाटक तथा कार्यक्रममा विशेष रुचि लिन्थे । सन् १५९२ मा उनी लण्डन आएपछि भने जीवनले नयाँ मोड लियो । त्याहाँ उनले नाट्यगृहमा काम गरे । उक्त कम्पनीले प्रत्येक हप्ता नाटक प्रदर्शन गथ्र्याे । जुन एउटा स्थापित कम्पनी थियो । यो कम्पनीलाई उनले आफ्नो जीवनकै अन्तिम समयसम्म पनि नेतुत्व प्रदान गरे । यसले उनका ६ वटा नाटकहरु पनि निर्माण गरेको थियो । सन् १५९४ देखि सन् १६०८ सम्मको चौध वर्ष उनी पूर्णरुपमा लण्डनका नाटक घरमा व्यस्त रहे । एकताका नाटक देखाउँदा पर्दा तान्ने शेक्सपियर अब भने नाटककार , लगानी कर्ता र कलाकार समेत भए । जुन समय सम्ममा उनी लण्डनकै सबभन्दा चर्चित तथा लोकप्रिय नाटककार भैसकेका थिए । उनलाई प्रतिष्ठित तथा सफल नाटककारको रुपमा लिन थालिएको थियो ।

विश्वका सर्वश्रेष्ठ साहित्कार शेक्सपियरले आफ्नो जीवनमा अत्यन्तै उत्कृष्ट र विश्व प्रसिद्ध नाटकहरुको रचना गरेका छन् । जसमा संयोगान्त र वियोगान्त नाटकहरु प्रमुख रुपमा रहेका छन । त्यस बाहेक ऐतिहासिक नाटक र कविताहरु पनि छन् । शेक्सपियर एक महान नाटककार एवं महाकवि हुन् । उनी विश्व साहित्यका गौरवका रुपमा प्रतिष्ठित छन् । त्यसैले विश्व साहित्यमा उनको उच्च स्थान पनि रहेको छ । उनले विश्व साहित्यलाई थुप्रै कुतिहरु दिएका छन् । जस मध्ये ओथलो ,राजा लिइर, म्याक्वेथ एन्टानी र क्लियोपाट्रा, हिउँदका कथा , हेम्लेट, बाह्राैं रात,जुली यस सिजर, रोमियो र जुलियट , भेनिसका व्यापारी जस्ता धेरै कृतिहरु रहका छन् ।शेक्सपियरले विश्वलाई १५४ वटा सनेट र ३८ वटा नाटक दिए ।

उनको कल्पना शक्तिको पहुँच, उनको रत्न जडित भाषा, कथा भन्ने उनको अद्भुत कौशलते गर्दा उनी विश्वका एक चमत्कार बन्न पुगे ।सन् १५८२ मा शेक्सपियरले अन्ना आडबेसँग विवाह गरेका थिए तर उनी पनि आफ्नो रचनामा नै रमाउने भएकोले उनको वैवाहिक जीवन त्यति सफल हुन सकेन र पनि उनी दुःखी थिएनन् । उनको प्रमुख लक्ष्य नै आफ्ना कृतिलाई पाठकको सामु उत्कृष्ट बनाउनु थियो ।

शेक्सपियरका कृतिहरु यति लोकप्रिय भएको कारण के हो भने तिनले लोकलाई दिएका मात्र होइन , लोकबाट पनि लिएका थिए । साधारण जनको भाषा , साधारण मानिसहरुले बोल्ने गरेको भाषा पनि तिनले टिपेका छन् । सिपाहीले बोलेको कुुरा, चिहान खन्नेहरुले बोलेको कुरा–यी सबबाट उनको कृतिको लोकआधार प्रमाणित हुन्छ । उनले साहित्यमा जुन विषयवस्तु लिए ती युगौं युगदेखि चल्दै आएका गाथा हुन् र लोकका हृदयमा समाहित भैसकेका थिए। तर ती गाथाहरुमा तिनले नयाँ रक्त संचार गरे , नयाँ परिभाषा र मूल्य दिए । आफ्ना समयका मानवबादी विचारले तिनलाई आभुषित गरे ।

१६११ मा उनी लण्डन छोडेर स्टेटफोर्ड गए, जहाँ उनको घर थियो, परिवार थियो, अनि जहाँ पाँचवर्ष पछि (सन् २३ अप्रिल १६१६ मा ) उनको देहान्त भयो । त्यसबेला उनी ५२ वर्षका थिए ।विश्वको प्रत्येक देशमा, सबै युगहरुमा साहित्यकारहरु ढिलो संन्देश लिएर जन्मन्छन्, तिनले देश कालको पर्खाल देखि पर रहेर विश्व जनीन सार्वभौम सत्यको प्रतिष्ठा ठान्दछन् ।

युग युगको मानवता पथ आलोकित गर्न दिब्य ज्योति झुल्काउँछन् अनि मानव समाजलाई झक्झकाएर ब्यँुझाउँछन् । साहित्यकारहरु देश र काल देखि माथि उठेर कल्पनाद्धारा त्यस स्वर्गीय भावभुभिको निर्माण गर्दछन , जुनको माटो मुछेर , भावनाका ढुङ्गा कुँदेर , आफ्नो सहज स्वभाव भुलेर ती स्वर्गीय क्षेत्रमा प्रवेश गर्दछन् । जुन जल थलबाट तिनको शरिर बनेको छ जुन देशको वातावरणमा ती हुर्केका छन् , जुन सास्कृतिक परम्परामा तिनको ज्ञान विज्ञानको संस्कार पाएका छन् , जुन धार्मिक वातावरणमा प्राकृतिक छटामा तिनको मत परिष्कृत र संस्कत छ , तिनबाट ती कसरी अलग्गिन्छन् ? यद्यपि ती पन्छन खोजे पनि तिनका रक्तविन्दुमा, आँशुमा, पसिनामा , सोरमा , भावमा ,चालमा त्यस देशको प्रशस्त छायाँ परिरहेको हुन्छ , जन हृदय बोलिरहेको हुन्छ , जन भावना खुलिरहेको हुन्छ ।

साहित्यकारको ज्ञान , अध्ययन, मनन् चिन्तन , अनुशीलन र लेखन कलाको फ्रम कहिल्यै पनि टुङ्गिने विषय होइन । कुनै पनि साहित्यकारले यस असिम र अपार विषयलाई सम्पुर्ण रुपले अवगाहन गर्ने , संगल्ने र बुझाउन सक्ने दावा गर्न सक्दैनन् । ब्यक्ति ब्यक्ति , पुस्ता पुस्ताका लेखकहरुको परिश्रमले , लेखनले , त्यागले , तपस्याले , बलिदानले मानव ज्ञानकोषमा साहित्य संगालिन्छ , कुनै उपसना र अनुष्ठान परिपुर्ण हुन्छ । यो रहस्यमय खोजमा तन्मय आत्मवान साहित्यकारको साहित्यमा जुन रहस्यमय सौन्दर्यको आभा सल्कन्छ , त्यसले सबैलाई मुग्ध गर्दछ । साहित्यकारहरु समाजको , देशका , विश्वका दर्पण हुन् । उनीहरुका रचनामा मानवको र विश्वको भावका गतिविधिहरु प्रतिविसम्बन्धी हुन्छन् ।

महान् नाटककार, कवि ,साहित्यकार शेक्सपियर आज हाम्रो सामु छैनन् तर विश्वलाई उनले दिएका कृतिहरु आज पनि उत्तिकै मूल्यवान छन्, अजर छन्, अमर छन् । उनको जन्मथलो स्टेटफोर्ड आज विश्वभरीका साहित्यप्रेमिको लागि तीर्थस्थल बनेको छ । विश्वका सर्वश्रेष्ठ साहित्यकारः सेक्सपियरलाई हामी अत्यन्त आदर र सम्मान गर्दछौं ।

एजेन्सी

Comments

Back to top