सफलताको कथाः अमेरिकी ‘ट्यापे’ यसरी बने चर्चित व्यवसायी !

खालिल राफाती लागूऔषध हिरोइनको ओभरडोजका कारण पटक-पटक अस्पताल भर्ना भए । यस्तो घटना एक दुईपटकमा सीमित रहेन । नवौं पटकमा त उनलाई इमर्जेन्सी कक्षमा रहेका डाक्टरहरुले बालबाल बचाएका थिए ।

हिरोइनको लतमा फसेका खालीलले एक दिन ओभरडोज हुने गरी सेवन गरे । नशाले उनलाई लस एञ्जलसको सडकमै सुतायो । तर उनी सहजै ब्युझिन सकेनन् । डेफिबिलियटरले इलेक्टि्रक झट्का दिएपछि मात्रै उनी ब्युँझिए ।

सन् २००३ मा खालील ३३ वर्ष पुगेका थिए । हिरोइन मात्रै होइन, कोकिनको समेत सेवन गर्ने गरेका कारण उनको तौल ४९ केजीसम्म झर्याे । छालाभरि जतात्यतै घाउ नै घाउ भयो ।

‘म कैयन पटक पक्राउ परेको छु, जुन मैले सम्झन पनि सक्दिनँ । ‘ उनी भन्छन् ‘म हरेक रात पीडामा हुन्थें र निदाउन सक्दैनथेँ। ‘
ओभरडोज भएको नवौं पटकपछि भने उनी कोकिन छाड्ने सोचमा पुगे । आफूलाई बचाउनका लागि कोकिन छाड्नुबाहेक उनीसँग अरु बिकल्प नै थिएन ।

कोकिन छोड्ने सोचका साथ उनी रिहृयाव सेन्टरमा भर्ना भए । त्यस पश्चात भने उनले कहिल्यै कोकिन छोएनन् ।

कोकिन छाडेर रिहृयाबबाट बाहिर निस्कँदा उनले आफुलाई सफल भएको ठाने । तर, सफलता कोकिन छाड्नेमा मात्रै सीमित रहेन । किनकि उनीसँग आज लाखौं डलर बराबरको उद्योग र चर्चित नाम छ ।

खालिल सनलाइफ अर्गानिक्सका मालिक हुन् । ६ वटा आउटलेटमार्फत उनले बाषिर्क ६ मिलियन अमेरीकी डलर बराबरको कारोबार गर्छन् ।
साथै उनले आफ्ना उत्पादनहरुलाई अहिले अनलाइन मार्फत पनि बेच्ने गरेका छन् । खालील अहिले विभिन्न देशमा थप १६ वटा बितरण केन्द्र स्थापना गर्ने सोचमा छन् ।

सडकमा सुत्नेदखि निजी विमानसम्म

उनी अहिले ४६ वर्षका भएका छन् । साथै उनीसँग अहिले आफ्नै निजी बिमान पनि छ । उनको जिन्दगी कुनै हलिउड फिल्मको भन्दा कम छैन ।

खालील अमेरिकाको ओहिओमा जन्मेका हुन् । मुस्लिम बुवा र यहुदी आमाको कोखबाट जन्मेका खालील स्कुले जीवनमा कैयन पटक तोडफोड र चोरीको आरोपमा पक्राउ समेत परे । उनले आफ्नो अध्ययन पूरा नगर्दै स्कुल छोडेका हुन् ।

२१ वर्षको उमेरमा उनीसँग हलिउड फिल्मको हिरो बन्ने सपना थियो । आफ्नो कलाकारिताको सपना पूरा गर्न उनले स्थानीय क्लबमा भनाए भए । कलाकार बन्ने सोचका कारण उनले हलिउड स्टार इलिाजाबेथ टेलर र जेफ बि्रजको कारसमेत पुछे ।

तर, यसैबीचमा उनी कुलतमा फसे । अनि उनका दुर्गतिहरु उनी आफैंले समेत नियन्त्रण गर्न सकेनन् ।

सामान प्रयोगपछि फालिएका कार्टुनमा सुत्दै कैयन रात समेत बिताएको उनीसँग अनुभव छ । कोकिनको लतमा परेका खालिल आफुलाई खाने जोहो गर्न कोकिनको समेत बिचौलिया भएर काम गर्न थाले ।

तर जब उनी कोकिनको लतबाट बाहिर आए । त्यसपछि मात्रै उनको जीवनमा परिवर्तन आयो । कोकिनको लत छाडेपछि उनी कामको खोजीमा कैयन कार्यालयहरु समेत धाए ।

कार पुछ्ने जागिरदेखि उद्योगीसम्म

उनले जागिरका क्रममा रिहृयाब सेन्टरमा काम गर्नेदेखि कार पुछ्ने, कुकर घुमाउने र गार्डेनमा पानी हाल्ने तथा झारपात हटाउने समेत गरे । उनी भन्छन् ‘दिनमा १६ घन्टा तथा हप्तामा सातै दिन काम गरेर म केही पैसा बचाउन सफल भएको थिए ।’

जब उनले एक दिन आफ्नो ओहिओको पुरानो साथी भेटे त्यो दिनदेखि उनलाई फ्रुटको जुस बनाउने बानी नै पर्‍यो ।

खालिल आफ्नो साथीको सम्झाना गर्दै भन्छन् ‘उनी हिप्पी जस्तै थिए, उनले मलाई भिटामिन र अर्गानिक खाद्यान्नको बारेमा धेरै पढाए ।

सन् २००७ मा खालिलले एक घर भाडामा लिए । र, आफै रिहृयाब सेन्टरको सञ्चालन गर्न लागे । सुरुमा उनले यही रिहृयाब सेन्टरमा बस्नेका लागि जुस बनाउन थाले । उनले रिहृयाबमा बसेकाहरुका लागि केरा, रोयल जेली र पोलेन आदि मिसाएर वेल्भेरीन नामको जुस बनाउन थाले ।

उनले बनाएको त्यो जुस रिहृयाबमा बसेकाहरुलाई नै साह्रै नै मीठो लाग्न थाल्यो । वेल्भेरीन जुसको चर्चा रिहृयाब सेन्टर भित्रमात्रै सिमित हुन सकेन । उनले बनाएको जुसको चर्चा रिहृयाब वरिपरिका विभिन्न स्थानमा हुन थाल्यो । उनको रिहृयाबमा मान्छेहरु जुस किन्न समेत आउन थाले ।

बाहिरबाट पनि ठूलो मात्रामा जुसको माग आउन थालेपछि उनले आफ्नी तत्कालीन प्रेमिका तथा बेस्ट फ्रेन्डसँग मिलेर सनलाइफ अर्गानिक्स दर्ता गरे । आम्दानी उनले बचत गर्दै जान थाले । जसका कारण उनले आफ्नो उद्योगमा लगानी बढाउन सफल भए । स्थापना गरेको पहिलो वर्षमै उनको कम्पनीले १ मिलियन अमेरीकी डलर बराबरको कारोबार गरेको थियो ।

अहिले उनको कम्पनीका ६ वटा बिक्री केन्द्र छन् । अहिले उनको कम्पनीले जुस मात्रै होइन, कपडा तथा खाद्यान्न समेत बेच्ने गर्दछ ।
डच बैंकका बिश्लेषक रोब नाजारा खालिलको बारेमा यसरी ब्याख्या गर्छन् ‘ एउँटा सफल उद्योगी तथा व्यवसायीको लागि पेशागत पृष्ठभूमि , शिक्षा के कति छ भन्ने महत्वपूर्ण कुरा होइन , सौख लगाव र साहस चाहिन्छ भन्ने कुराको प्रमाण हेर्ने हो भने खालीललाई हेरे हुन्छ ।’

खालीलले अहिले पनि सनलाइफ अर्गानिक्स बाहेक रिभिरा रिकभरी र योगा स्टुडियो सञ्चालन गरिरहेका छन् । साथै उनले ‘आइ र्फगट टु डाई’ नामक अटोबायोग्राफी समेत लेखेका छन् । जुन सन् २०१५ मा बजारमा आएको थियो ।

एजेन्सी

Comments

Back to top