को हुन् अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस ?

कमला भारतीय ब्राह्मण आमा र जमैकन बुबाको सन्तान हुन्। अक्टोबर २०, १९६४ मा ओकल्यान्ड, क्यालिफोर्नियामा उनको जन्म भएको थियो । उनी आप्रवासीको परिवारमा जन्मिएकी थिइन् । आमा श्यामला गोपालन स्नातकपछि १९ वर्षको उमेरमा भारतको तमिलनाडुबाट अमेरिका पुगेकी थिइन् ।

हार्वर्डबाट राजनीतिशास्त्रमा स्नातक गरेपछि कमलाले सन् १९८९ मा कोलम्बिया विश्वविद्यालयबाट कानूनको अध्ययन पूरा गरिन् । सन् १९९० मा उनी क्यालिफोर्नियाको स्टेट बार काउन्सिलमा सामेल भइन् र सहायकको रूपमा काम गरिन्।

सन् १९९४ मा उनले ६० वर्षीया विली ब्राउनलाई भेटिन् । त्यतिबेला उनी क्यालिफोर्निया विधान सभाका सभामुख थिए। यस समयमा कमला ३० वर्षकी थिइन् र करियरको प्रारम्भिक चरणमा थिइन् । उमेरमा ठूलो अन्तर भए पनि उनीहरूले दुई वर्ष डेट गरे ।

एक अन्तर्वार्तामा कमलाले विलीसँगको आफ्नो सम्बन्धबारे भनेकी थिइन्, “सायद यो मेरो घाँटीमा मेरो बाँकी जीवनको लागि एक फाँसीको रूपमा रहिरहनेछ ।”

वास्तवमा यही सम्बन्धका कारण कमलालाई विलीकी श्रीमतीसमेत भनिन्थ्यो । जब कमला सन् २०२० मा उपराष्ट्रपतिको उम्मेदवार निर्वाचित भइन्, कमलाले विलीसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना खेप्नुपरेको थियो । उनलाई ‘अर्काको घरबार बिगार्ने’ महिलाको रूपमा वर्णन गरिएको थियो ।

बढी आलोचना भएपछि यसबारे विली स्वयम्‌ले स्पष्ट पारेका थिए— कमलासँग डेट गर्नुअघि नै मेरी श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो । कमलाका आलोचकहरूले उनलाई विलीको पदको फाइदा उठाएको भनेर आरोप अझैसम्म लगाउँछन् ।

सन् २००३ मा कमला सान फ्रान्सिस्को जिल्ला अधिवक्ताको चुनाव लड्दै थिइन् । यही क्रममा विपक्षीले कमला र विलीबीच ७ वर्षअघि टुटेको सम्बन्ध सार्वजनिक गरेका थिए । कमलालाई राजनीतिमा हराउनका लागि उनका विरोधीहरूले उनको व्यक्तिगत जीवनलाई अदालतमा ल्याएका थिए ।

उनीहरूले कमलाले विलीसँगको सम्बन्ध प्रयोग गरी एकैपटक दुईवटा सरकारी पद प्राप्त गरेको आरोप लगाएका थिए तर, यी आरोपका बाबजुद कमला जिल्ला न्यायाधिवक्ताको निर्वाचनमा विजयी भइन् र क्यालिफोर्नियाबाट यस पदमा निर्वाचित पहिलो अफ्रिकी-एसियाली महिला बनिन् ।

राजनीतिक जीवन

कमलाले वकालतलाई करियरको रूपमा रोज्दा उनकी आमा खासै खुसी भइनन् तर, उनले बुझाइन् ।

कानूनमार्फत महिला, बालबालिका र अश्वेतको जीवनमा सुधार ल्याउन वकिल बनेको कमला बताउने गर्छिन् । त्यसो त यो पनि सत्य हो कि वकिलहरूले अमेरिकी राजनीतिमा प्रभुत्व जमाएका छन् ।

हार्वर्ड विश्वविद्यालयका अनुसार स्वतन्त्रतादेखि सन् २०१५ सम्मका ६० प्रतिशत अमेरिकी राष्ट्रपतिहरू वकिल थिए । अमेरिकी कांग्रेसमा ४० प्रतिशतभन्दा बढी सांसदहरू वकिल हुन् । कमलाको राजनीतिक करियरको पहिलो चरण वकालत थियो । उनी जिल्ला अधिवक्ताबाट राज्य अधिवक्ता र त्यसपछि सिनेटमा पुगेकी महिला हुन् ।

जिल्ला न्यायाधिवक्ता बनेको एक वर्षमै कमला आफ्नो कार्यशैलीलाई लिएर विवादमा तानिएकी थिइन् । यी विवादहरूले कमलाको लोकप्रियता बढायो । सन् २००४ मा एक आपराधिक गिरोहको एक सदस्यले एक प्रहरी आइज्याक एस्पिनोजालाई गोली हानेर मारे ।

हत्यारालाई मृत्युदण्ड दिनुपर्ने जनताको माग थियो । तर, सरकारी वकिलको हैसियतमा कमलाले मृत्युदण्डको सजाय तोकिनन् । त्यसबाट जनता र प्रहरीले मात्र होइन, क्यालिफोर्नियाका सिनेटरले समेत उनको कार्यशैलीप्रति प्रश्न उठाएका थिए ।

एक वकिलका रूपमा कमलाले मृत्युदण्डको सजाय घटाउने काम गरिन् । ‘न्यायापालिकाले सजाय दिनेभन्दा अपराध रोक्नेतर्फ बढी ध्यान दिनुपर्छ’ उनले भनिन् । उनले सानातिना अपराधहरूको सजाय पनि कम गरेकी छन् ।

कमलाले ‘ब्याक अन ट्र्याक’ कार्यक्रम सुरु गरिन् । जसअन्तर्गत साना अपराध गर्ने व्यक्तिहरूलाई अपराध छाडेर सामान्य जीवनयापन गर्न विद्यालय शिक्षा र रोजगारीसम्बन्धी तालिम दिइएको थियो ।

छोराछोरीलाई शिक्षाका लागि विद्यालय नपठाउने अभिभावकलाई कारबाही गर्न पनि कमलाले ध्यानाकर्षण गराइन् । यो अपराधलाई ‘ट्र्यान्सी’ भनिन्छ ।

यसको सबैभन्दा ठूलो असर अश्वेत जातिमा परेको थियो । जसका कारण कमलाको निकै आलोचना भएको थियो । तर, कमलाका लागि अभियान चलाउनेहरू यसका कारण ट्रान्जेन्सीमा ३३ प्रतिशतले कमी आएको बताउँछन् ।

कमलाले सन् २०१९ मा पोलिटीको पत्रिकामा राजनीतिबारे लेखेकी थिइन्— सान फ्रान्सिस्कोको चहकिलो विवाहदेखि लिएर परोपकारी कार्यक्रम र ठूला रेष्टुरेन्टहरूमा सहरका धनीहरूसँग सम्पर्क राखेँ, त्यहाँ रहेँ ।

कमला ह्यारिसले सन् २०१६ मा चुनावी राजनीतिमा प्रवेश गरेकी थिइन् । यो त्यही वर्ष थियो, जहाँ डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए । कमलालाई बाराक ओबामा र जो बाइडेनको समर्थन थियो ।

उनी सिनेटमा निर्वाचित दोस्रो अश्वेत महिला बनिन् । सांसद बनेको दुई वर्षपछि कमला ह्यारिस सन् २०१९ मा राष्ट्रपतिको दौडमा सामेल भइन् ।

सन् २०२० मा बाइडनको विजयपछि कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो अश्वेत महिला उपराष्ट्रपति निर्वाचित भइन् । राजनीतिमा प्रवेश गरेको ७ वर्षमै उनी अहिले राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।

न्यूयोर्क टाइम्सका अनुसार उनले तेस्रोपटक राष्ट्रपतिको चुनाव लड्दै गरेका ट्रम्पलाई कडा टक्कर दिइरहेका छन् । एक्जिट पोलहरूअनुसार कमला ह्यारिस ७ मध्ये ५ महत्त्वपूर्ण राज्यमा ट्रम्पभन्दा अगाडि छिन् ।

उनले जितिन् भने अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेर इतिहासमा सदाको लागि आफ्नो नाम दर्ता गराउनेछिन्, त्यो पनि अश्वेत !

Comments

Back to top