इजरायलद्वारा यूएनआरडब्लूएसँग सम्बन्ध तोड्ने घोषणा
इजरायलले प्यालेस्टिनी शरणार्थीको लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लूए)सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घसमक्ष सोमबार पेस गरेको छ ।
इजरायली विदेश मन्त्री इजरायल काट्जको निर्देशनमा विदेश मन्त्रालयले इजरायल र यूएनआरडब्लूएबीचको सम्झौता रद्द भएको संयुक्त राष्ट्रलाई सूचित गरेको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
विदेश मन्त्री काट्जले यूएनआरडब्लूएका कर्मचारीहरूले गत अक्टोबरको नरसंहारमा भाग लिएको दाबी गर्दै उनीहरूलाई हमासका कार्यकर्ता तथा गाजा पट्टीको समस्याको हिस्साको रुपमा व्याख्या गरेका छन् । यद्दपी कुनै प्रमाण भने पेस गरिएको छैन ।
इजरायली संसद्ले गत महिना इजरायल र पूर्वी जेरुसेलममा यूएनआरडब्लूएलाई प्रतिबन्धित गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । उक्त कार्यको इजरायलकोे सहयोगी अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भएको थियो।
प्यालेस्टिनी क्षेत्रहरूमा शरणार्थीलाई सात दशकभन्दा बढी समयदेखि आवश्यक सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय एजेन्सीको प्रतिबन्ध कार्यान्वयन गरियो भने गाजामा थप मानवीय सङ्कट थपिने विज्ञहरूले जनाएका छन् ।
यद्यपि, काट्जले उक्त तर्कलाई अस्वीकार गर्दै यूएनआरडब्लूएले गाजामा सहयोगको केहि अंश मात्र पुर्याइरहेको बताए ।
जरायल अन्तर्राष्ट्रिय कानूनप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै काट्जले इजरायली नागरिकको सुरक्षालाई असर नगर्ने गरी गाजा पट्टीमा मानवीय सहायतालाई सहज बनाउने बताएका छन् ।
यूएनआरडब्लूए र अन्य मानवीय संस्थाहरूले इजरायली अधिकारीलाई गाजामा सहायता प्रवाह प्रतिबन्धित गरेको आरोप लगाएका छन् । गाजामा रहेका करिब २४ लाख मानिसहरू युद्धको समयमा कुनै नक्नै रूपमा विस्थापित भएका छन् ।
एजेन्सी
Comments