स्पेनको बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा राजा फिलिपमाथी विरोध प्रदर्शन

स्पेनका राजा फिलिप बाढी प्रभावित क्षेत्र भ्यालेसिन्याको अवलोकनमा जाँदा पीडित नागरिकले विरोध जनाएका छन् । प्रदर्शनकारीले राजा फिलिपमाथि हिलो छ्याप्ने प्रयाससमेत गरेका थिए । भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले अवलोकनको अन्य कार्यक्रम रद्द गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्यालेन्सियाको अवलोकनमा पुगेका राजालाई विरोध र दुर्व्यवहार भएपछि अर्को क्षेत्र चिवाको भ्रमणका क्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो । चिवा र भ्यालेन्सियाको दूरी झन्डै ३५ किलोमिटर रहेको छ । त्यस्तै प्रधानमन्त्री पेद्रो सान्चेजको भ्यालेन्सिया भ्रमण पनि छोट्याइएको छ ।

यसैबीच स्पेनको राष्ट्रिय मौसम विभागले भ्यालेन्सिया र आसपासका क्षेत्रमा थप ठूलो वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ । स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय नाघेको छ । बाढीबाट प्रभावित नागरिकले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको भन्दै गुनासो गर्दै आएका छन् ।

एजेन्सी

Comments

Back to top