तिहार सकिए लगत्तै काठमाण्डौसहित तराई/मधेसमा छठ पर्वको तयारी शुरु
यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो ।
यसैबीच तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ। काठमाण्डौसहित तराई/मधेसका जिल्लामा छठको तयारी शुरु भएको हो । गुह्येश्वरी मन्दिरमुनिको बाग्मती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ । विशेषगरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।
घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । केही भारतीय नागरिकसमेत नेपाली बजारमा छठका लागि माटोका भाँडो बिक्रि गर्न आउन थालेका छन् ।
धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।
एजेन्सी
Comments