अमेरिकी राष्ट्रपति चुनाव : सर्वेक्षणमा कमला अघि

अमेरिकी राष्ट्रपतीय चुनावको पछिल्लो सर्वेक्षणअनुसार कमला ह्यारिसले अग्रता कायम राखेकी छन् । बीबीसीले नयाँ तथ्याङ्कलाई उद्धृत गर्दै कमला ह्यारिस अर्का उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा एक प्रतिशतले अघि रहेकाे जनाएको छ ।

सर्वेक्षणमा कमलाको पक्षमा ४८ र ट्रम्पको पक्षमा ४७ प्रतिशत मत देखिएको छ । यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त नहुने बीबीसीले जनाएको छ ।

विश्वशक्ति अमेरिकाको राष्ट्रपति चुनावले अहिले विश्वकै ध्यानकेन्द्रित गरेको छ । नोभेम्बर ५ मा हुने चुनावले अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित गर्नेछ । राष्ट्रपतिका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार छन् ।

सन् १७७६ मा स्वतन्त्र भए यताको झण्डै साढे दुई सय वर्षको अमेरिकी इतिहासमा ४६ जना पुरुषहरूले शासन गरेका छन्। यसपाली अमेरिकाले महिला राष्ट्रपती पाउने सम्भावना भए पनि प्रतिस्पर्धा निकै कडा रहेको सर्वेक्षणहरुले देखाएका छन् ।

अमेरिकामा कुल ५ सय ३८ इलेक्टोरल कलेज भोट छन् । जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २ सय ७० मत चाहिन्छ । अमेरिकामा ५० वटा राज्य छन् । तर तीमध्ये धेरैजसोले सधैँ एउटै पार्टीको पक्षमा मतदान गर्छन् । दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन् । यिनैबाट उम्मेदवारको जीत वा पराजय तय हुन्छ ।

एजेन्सी 

Comments

Back to top