चर्चित उद्योगपति सुबोध कुमार गुप्ता

सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन् । नेपाल उद्योग वाणिज्य महासंघको गत निर्वाचनमार्फत वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्यमा निर्वाचित गुप्ता अहिले महासंघअन्तर्गतकै बैंक वित्तीय तथा बीमा समितिको उपसभापति छन् । वीरगञ्ज उद्योग संघका अध्यक्ष समेत रहेका उनी व्यावसायिक रूपमा कृषि र खाद्यान्नको क्षेत्रमा आवद्ध छन् । कृषि एवम् खाद्यान्नको क्षेत्रमा लगानी गर्दै आएको प्रतिष्ठित व्यावसायिक घराना मोहित ग्रुपका सञ्चालक रहेका उनले हाल उक्त ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

मोहित ग्रुप खाद्य क्षेत्रको एक स्थापित ब्राण्ड हो । जुन कम्पनीको स्थापना सन् १९९० मा भएको हो । यो कम्पनीले अहिले विभिन्न २० वटा भन्दा बढी जिल्लामा आफ्नो उपस्थिति जनाएको छ भने १० लाख भन्दा बढी ग्राहकको पहुँचमा मोहित ग्रुपका उत्पादन पुग्ने गरेको छ । कम्पनीले हाल त्रिलोकी, शहिल, बासुदेव र मोहित ब्राण्डबाट विभिन्न परिमाणमा गुणस्तरीय चामल उत्पादन गर्दै आएको छ ।
करिब ३०० जनालाई रोजगारी समेत दिलाएको ग्रुपलाई सही दिशा र गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सुबोध कुमार गुप्ताको सार्थक सोच, अद्वितीय कार्यकौशलता तथा व्यवस्थापकीय क्षमताका कारण मोहित ग्रुप छोटो समयमा नै स्थापित हुन सफल भएको मान्न सकिन्छ । यसरी एक प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान खडा गर्न सफल गुप्तालाई सम्भावना बोकेका व्यवसायी नेताका रूपमा समेत हेरिँदै आइएको छ ।

कृषि एवम् औद्योगिक क्रान्तिबाट नै देशले समृद्धि हासिल गर्न सक्छ भन्ने सोच र भावनाबाट ओतप्रोत गुप्ताले देशको मुहार फेर्न सक्ने उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिरहेका मात्र छैनन् कि यसका अलवा पनि निजी क्षेत्रको तर्फबाट त्यस क्षेत्रलाई नेतृत्व समेत गरिरहेका छन् । गुप्ता हाल चामल, दाल, तेल उत्पादक संघका केन्द्रीय अध्यक्ष समेत हुन । उक्त संघको नेतृत्व सम्हाल्दै गर्दा गुप्ताले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दूरगामी सोच बोकेर अघि बढेका छन् । संगठन सुदृढीकरणको कार्य होस् वा राज्य स्तरमा निजी क्षेत्रको आवाजलाई बुलन्द पार्ने कार्य यस मामिलामा गुप्ताको कार्यकाल निकै सफल मानिन्छ ।

खाद्य उद्योग क्षेत्रको विकास र उन्नयनमा निकै सक्रियतापूर्वक लागि पर्दै आएका गुप्तालाई व्यावसायिक वृत्तमा दूरदृष्टि भएका नेताको रूपमा लिइन्छ । युवा व्यवसायीहरू माझ निकै चर्चित गुप्ता नयाँ पुस्ताका लागि रोलमोडल बन्न सक्ने ल्याकत राख्छन् ।
त्यसो त सुबोध कुमार गुप्ता नेपालको व्यापारिक नगरी विरगञ्जवासीमाझ उत्तिकै चर्चित र लोकप्रिय छन् । उद्योगपति एवम् व्यवसायीहरूको शहरको उपमा पाएको वीरगञ्ज वास्तवमै नेपालको प्रमुख व्यापारिक केन्द्र हो । गुप्ताले यही शहरबाटै आफ्नो व्यावसायिक यात्राको शुभारम्भ गर्दै सफलता प्राप्त गर्दै अगाडि बढिरहेका छन् ।

एजेन्सी

 

Comments

Back to top