नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

शङ्खधर साख्वाः प्रतिष्ठानले शनिवार मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेपछि उनले भाषा, संस्कृति र सभ्यतालाई जोगाउन व्यक्तिगत र प्रधानमन्त्री दुवै हैसियतमा आफू तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने जानकारी दिँदै प्रतिष्ठानका केही जायज माग राज्यको क्षमताअनुसार क्रमशः पूरा गरिने बताए।

‘नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयका रुपमा समावेश गर्न माग गर्नुभएको छ, त्यो पूरा गर्न नसकिने माग हो जस्तो लाग्दैन, मैथिली, भोजपुरी जस्तै यसलाई पनि ऐच्छिक विषयका रुपमा पाठ्यक्रमा समावेश गर्न सकिन्छ । निर्णय नगरी यहाँ मैले बोल्न मिल्दैन,’ उनले भने ।

सरकारीस्तरमा नेपाल भाषाको संरक्षणका लागि विभिन्न प्रयास भइरहेका तथा त्यस क्रममा राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालबाट नेपाल भाषामा समाचार प्रकाशन एवं प्रसारण थालिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

एजेन्सी

Comments

Back to top