रूसले गुगललाई विश्वको जीडीपीभन्दा धेरै जरिवाना तोक्यो
रूसको अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ । गुगलले रूसका १७ वटा सञ्चारमाध्ययमका च्यानललाई युट्युब प्रतिबन्ध लगाएको मुद्दामा अदालतले गुगललाई २० डेसिलियन अमेरिकी डलर बराबरको जरिवाना तोकेको हो ।
यसलाई अङ्कमा लेख्दा दुई पछि ३६ वटा शून्य लेख्नुपर्छ । अर्थात रुसले गुगललाई ३७ अङ्कको जरिवाना तोकेको बीबीसीले जनाएको छ । यो रकम विश्वको कुल ग्राहस्थ उत्पादन जीडीपीभन्दा पनि धेरै हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वको जीडीपी एक सय १० ट्रिलियन डलर छ । रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमिट्री पेस्कोभले तोकिएको जरिवाना उच्चारण गर्न नसकिने तर गुगल प्रशासनको ध्यानाकर्षण हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।
सन् २०२० देखि नै रूसी च्यानललाई प्रतिबन्ध लगाउन शुरू गरेको गुगलले युक्रेन युद्धपछि धेरै युट्युब च्यानलहरूमा समेत प्रतिबन्ध लगाएको थियो । केही समयअघि रूसी अदालतले प्रतिबन्ध लगाएका च्यानलहरूलाई फुकुवा गर्न आदेश दिएको थियो । तर फुकुवा नगरेपछि जरिवाना तोकेको हो ।
नौ महिनाभित्र जरिवाना नतिरेमा हरेक हप्ता जरिवाना दोब्बर बढाउने अदालतले चेतावनी दिएको छ । अदालतको फैसलामा जरिबाना रकम तिरिसकेपछि मात्रै रूसी बजारमा गुगललाई प्रवेश दिने उल्लेख छ । गुगलले अहिले रूसीमा कुनै पनि प्रकारको व्यापार गर्दैन । सन् २०२२ मा रूसीले युक्रेनमा आक्रमण शुरु गरेपछि गुगलले रुसमा आफ्ना सबै गतिविधि बन्द गरेको थियो ।
एजेन्सी
Comments