सुडानमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढ्यो

संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले सुडानको गृहयुद्धमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढेको देखाएको छ ।

सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा विशेषगरी बालिकाहरु दुर्व्यवहारको सिकार भइरहेका र महिला तथा किशोरी यौन दासत्वका लागि अपहरण भइरहेको उल्लेख छ।

अनुसन्धानका अध्यक्ष मोहम्मद चण्डे ओथम्यानले सुडानमा अहिले कुनै सुरक्षित ठाउँ नभएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (एसएएफ) र उनको पूर्व सहायक मोहम्मद हमदान डाग्लोको नेतृत्वमा रहेको अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सन् २०२३ को अप्रिलदेखि युद्ध हुँदै आएको छ । सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले सुडानले भोकमरी, हिंसा, रोगलगायतको चपेटा बेहोरिरहेको बताएका छन् । 

एजेन्सी

Comments

Back to top