प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीमाथि इजरायलले प्रतिबन्ध लगायाे
इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (यूएनआरडब्ल्यूए) लाई इजरायलभित्र काम गर्न प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । संसद्मा यो विधेयकमा मतदान भएकोमा पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो ।
यो कानूनले यूएनआरडब्ल्यूका कर्मचारी र इजरायलका अधिकारीबीच हुने सम्पर्कमा पनि रोक लगाउने तथा गाजा र इजरायलको अधीनमा रहेको वेस्ट बैंकमा एजेन्सीको काम गर्न सक्ने क्षमता खुम्चिने बीबीसीले जनाएको छ । गएको वर्षको अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा यूएनआरडब्ल्यूएले इजरायलबाट निरन्तर आलोचनाको सामना गरिरहेको छ ।
हिजो क्यानाडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बढ्दै गएको मानवीय सङ्कटबारे चिन्ता व्यक्त गर्दै इजरायललाई प्रस्तावित कानून रोक्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
विधेयक पारित हुनुअघि नै राष्ट्रसङ्घले खाना, आश्रय र स्वास्थ्य सेवामा पूर्ण रोक लगाइएको गाजामा झन्डै ६ लाख जना बालबालिका जोखिममा पर्ने बताएको थियो । प्रतिबन्धले इजरायलले कब्जा गरेको क्षेत्रमा यूएनआरडब्ल्यूएको सेवामा बाधा पुग्ने अनुमान छ ।
एजेन्सी
Comments