सीइडीबी हाइड्रोपावरको नाफामा उछाल

सीइडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरण अनुसार गत आवको तुलनामा चालु आवको पहिलो त्रैमासमा खुद नाफा २०२.२८ प्रतिशत वृद्धि भएको छ।

चालु आवको असोज मसान्तसम्म कम्पनीले ९ करोड ७ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३ करोड ३३ हजार रुपैयाँ मात्रै थियो ।

असोजसम्म आइपुग्दा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा ४ करोड ९ लाख ८१ हजार रुपैयाँ यस्तो आम्दानी गरेको कम्पनीको चालु आवमा बढेर १० करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष र संचित मुनाफा ५३ करोड ६३ लाख रुपैयाँबाट घटेर ४८ करोड ६० लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८ पैसाले बढेर ३५ रुपैयाँ ११ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६ रुपैयाँ ९ पैसाले घटेर १४७ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ५०.९८ गुणा छ ।

एजेन्सी

Comments

Back to top