टीकापुर विमानस्थलमा परीक्षण उडान, स्थानीयमा उत्साह
टीकापुर विमानस्थलमा हालै भएको परीक्षण उडानले स्थानीय बासिन्दामा ठूलो उत्साह थपेको छ ।
लामो प्रतिक्षापछि भएको परीक्षण उडानले यस क्षेत्रको हवाई सम्पर्क सञ्जालको विकासको सम्भावनालाई बलियो बनाएको छ ।
स्थानीय बासिन्दा तथा अधिकारीहरू यसलाई व्यापार, पर्यटन र स्थानीय सुविधाका लागि सकारात्मक अवसरको रूपमा हेर्दैछन् ।
यदि नियमित हवाई सेवा सुरू भयो भने यसले टीकापुर र आसपासका क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुर्याउने व्यवसायीको आशा छ ।
त्यहाँका व्यवसायी पारस रावलले विगतमा पनि परीक्षण उडानहरू भए तापनि नियमित उडान नभएकोमा चिन्ता व्यक्त गरे ।
उनी भन्छन्, “हामीले विगतमा पनि केही परीक्षण उडान देख्यौं तर, त्यसपछि नियमित उडानको लागि कुनै ठोस कदम चालिएको थिएन । यस पटक भने स्थानीय र सरकारी तहबाट आवश्यक पहल र लगानी हुनु जरूरी छ, ताकि यो परियोजना केवल परीक्षणमा सीमित नहोस् र टीकापुरलाई दीर्घकालीन रूपमा हवाई सञ्जालसँग जोड्न सकियोस् ।”
रावलले यस पटक स्थानीय समुदायले पनि सक्रिय रूपमा समर्थन गर्ने अपेक्षा राखेका छन् ।
एजेन्सी
Comments