शनिबार सरकारविरुद्ध माओवादी केन्द्रको खबरदारी सभा, सहभागी हुन अपिल
नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध पार्टीले आयोजना गर्न लागेको खबरदारीमा सहभागी हुन अपिल गरेको छ ।
खबरदारी सभाका बारेमा जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धीको रक्षा गर्न पार्टीले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको भन्दै खबरदारीमा सहभागी हुन अपिल गरेका हुन् ।
सरकारको क्रियाकलापले देश अप्ठेरो अवस्थामा पुगेको भन्दै उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महशुस भएको उल्लेख गरे ।
माओवादीले अहिलेको सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभई निहित स्वार्थ समूहको हित रक्षा गर्ने कुरा प्रष्ट भएको जनाएको छ । त्यस्तै, प्रवक्ता सापकोटाले अहिलको सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको र सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाए ।
अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको उनको भनाइ छ । कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्लारूपमा संरक्षण गरिएको समेत सापकोटाको जिकिर छ ।
माओवादीले कात्तिक १० गते (शनिबार) सुन्धाराबाट प्रदर्शनसहितको र्याली निकाल्ने र काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने जनाएको छ ।
एजेन्सी
Comments