चीनबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने क्यानडाको घोषणा

क्यानडाले चीनबाट आयात हुने स्टील र आल्मुनियमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले कारोबारमा अनुचित तरिका अपनाएको आरोप लगाएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री ट्रुडोले सस्तो स्टिल र आल्मुनियमका कारण अन्तर्राष्ट्रिय बजारमा चीनको ठूलो प्रभाव रहेको सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बताएका छन् । उनले चीनको अनुचित कारोबारको तरिकाले क्यानडाका कामदारलाई ठूलो नोक्सान पुगेको उल्लेख गरे । चीनबाट आयात हुने स्टील र आल्मुनियमा आजदेखि २५ प्रतिशत कर लाग्ने प्रधानमन्त्री ट्रुडोले बताएका छन् ।

यसअघि अमेरिकाकी ट्रेजरी जेनेट येलेनले पनि गएको अप्रिल महिनाको शुरुआतमा आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँगको कुराकानीमा विश्व बजारमा सस्तो चिनियाँ उत्पादनलाई लिएर चिन्ता व्यक्ति गरेका थिए ।

यस्तै गएको मे महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङको फ्रान्स भ्रमणका क्रममा युरोपियन कमिशनका अध्यक्ष उर्सुला वान डेर लेभेनले पनि यसबारेमा कुरा उठाएका थिए ।

एजेन्सी

Comments

Back to top