भारत र चीनबीच एलएसीमा सेनाको गस्ती गर्ने सहमति

भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीमा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जानुअघि सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका थिए।

पत्रकार सम्मेलनमा विक्रम मिश्रीले भने, ”केही सातादेखि भारत र चीनबीच कूटनीतिक र सैन्य तहमा वार्ता भइरहेको थियो । त्यसैको नतिजा भनेको एलएसीमा सेनाको गस्ती गर्ने सम्बन्धमा दुवै देशबीच सहमति भएको हो ।”

यो सम्झौतापछि दुवै देशका सेना भारत–चीन सीमाबाट हट्ने र सन् २०२० मा एलएसीमा सुरु भएको विवाद समाधान हुने विश्वास विक्रम मिश्रीले व्यक्त गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदी अक्टोबर २२/२३ मा रुसको कजानमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन जाँदैछन् । यस शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि आउनेछन् । मोदी र सी चिनफिङबीच द्विपक्षीय बैठक पनि हुनसक्ने बताइएको छ ।

मिश्रीले दुई देशका राष्ट्राध्यक्षबीच भएको द्विपक्षीय भेटको पुष्टि नगरे पनि द्विपक्षीय विषयमा छलफल हुने बताएका छन्।

सीमा विवाद समाधानका लागि भारत र चीनबीच दर्जनौं चरणको वार्ता भइसकेको भएपनि दुवै देशले अहिलेसम्म कुनै टुंगोमा पुग्न सकेको छैन ।

सन् २०२० मा पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच हिंसात्मक झडप भएको थियो । जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने धेरै चिनियाँ सैनिकको पनि मृत्यु भएको थियो ।

त्यसयता दुई देशबीच तनाव छ । तर, यसले दुवै देशको व्यापारमा कुनै असर गरेको छैन । दुई देशबीचको द्विपक्षीय व्यापार सन् २०२३ सम्ममा १३६ अर्ब डलर पुग्यो । सन् २०२२ मा दुई देशबीच १३५.९८ बिलियन डलरको व्यापार भएको थियो ।

एजेन्सी

Comments

Back to top