रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि अदालतले ६ दिनको म्याद दिएको छ ।

जिल्ला अदालत कास्कीले सरकारी वकिलको माग अनुसार नै लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्न ६ दिनको म्याद दिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अदालतको अनुमति अनुसार लामिछाने बुधबारसम्म हिरासतै बस्नु पर्ने भएको छ ।

आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका हुन् । काठमाडौंमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो।

एजेन्सी

Comments

Back to top