पाेखरामा निषेधित क्षेत्र घाेषणा, ५ जनाभन्दा धेरै भेला हुन नपाइने

कास्कीमा दुई पक्षको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासनले निषेधित क्षेत्रको घोषणा गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउपछि कास्कीको पोखरामा भइरहेको प्रदर्शनलाई ध्यानमा राखेर पोखराको शहीद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

शहीद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। यी क्षेत्रमा पाँच जनाभन्दा धेरै भेला भएमा कानूनअनुसार कारबाही हुने प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले सबै पक्षलाई संयमता अपनाउन अपिलसमेत गरेका छन् । सुरक्षा सतर्कता पनि बढाइएको छ । सहकारी ठगीको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई अस्ति काठमाण्डौमा पक्राउ गरी पोखरा पुर्‍याएको हो । पक्राउ परेका लामिछानेलाई आजै अदालतमा पेश गरिँदैछ ।

एजेन्सी

Comments

Back to top