लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणप्रति नेपालको निन्दा
नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रहसमेत गरेको छ ।
सामाजिक सञ्जाल एक्समार्फत् मन्त्रालयले भनेको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरून्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’
आइतबार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए ।
सोमबार इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रूपमा खट्दै आएका छन् ।
राष्ट्रसंघको शान्ति मिसनमा संलग्न नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् ।
एजेन्सी
Comments