बाबा सिद्दिकीको हत्या: लरेन्स गिरोहले लियो जिम्मेवारी
भारतको अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको थियो ।
गुजरातको साबरमती जेलमा रहेका लरेन्स बिश्नोईको गिरोहले घटना भएको २८ घण्टापछि सामाजिक सञ्जालमा हत्याको जिम्मेवारी लिएको छ ।
सिद्दिकीमाथि हिजो राति करिब ९ः३० बजे बान्द्राको खेर नगरमा विधायक छोरा जीशानको कार्यालय बाहिर ३ जना बदमाशले गोली हानेका थिए ।
स्रोतकाअनुसार अटोमा आएका ३ बन्दुकधारीले दुई बन्दुकबाट ६ राउण्ड फायर गरेका थिए । बाबालाई तीनवटा गोली लागेको थियो । उनको पेटमा र १ गोली छातीमा लागेको थियो । तीनै जनाले मुखमा रुमाल बाँधेका थिए ।
सिद्दिकीले वाई सेक्युरिटी पाएका थिए तर उनीसँग कोही पनि प्रहरी थिएनन् । सडक बत्ती र सिसिटिभी पनि बन्द गरिएको थियो । दोस्रो गोली प्रहार गर्ने पक्राउ परेका छन् भने तेस्रो गोली प्रहार गर्नेको पनि पहिचान भएको छ । प्रहरीले उनको विभिन्न राज्यमा खोजी गरिरहेको छ ।
विगत ४० दिनदेखि मुम्बईमा रहेर बन्दुकधारीहरू सिद्दिकीको घर र छोराको अफिसको खोजी गरिरहेका थिए।
सुरुदेखि नै घटनामा गुण्डा नाइके लरेन्स गिरोहको संलग्नता रहेको आशंका गरिएको थियो । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ ।
प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो ।
एजेन्सी
Comments